
तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगलाई वित्तीय सहुलियत, विभिन्न छुट तथा सुविधा पाउने भएका छन् ।
उद्योग वाणिज्य मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै यस्ता उद्योगलाई एक प्रतिशत ब्याजको विशेष पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको हो।
यद्यपि पुनर्कर्जा भने नेपाल राष्ट्र बैंकले उपलब्ध गराउनु पर्छ। यो पुनर्कर्जाको ब्याज राष्ट्र बैंकले एक प्रतिशत कायम गरेको छ। वाणिज्य बैंकहरुमार्फत जाने भएकाले त्यहाँ २ प्रतिशतको स्प्रेड राखेर ब्याज ३ प्रतिशत हुने व्यवस्था गरिएको छ।
तरल अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको मितिदेखि पहिलो ५ वर्षसम्म विद्युत डिमाण्ड शुल्कमा छुट हुने छ।
उद्योगसम्म पुग्ने सडक, खानेपानी, ढल सम्बन्धी पूर्वाधार निर्माण गरेमा त्यहाँ भएको खर्चको ७५ प्रतिशत सरकारले ब्यहोर्ने छ। डेडिकेटेड लाइन लगेमा त्यहाँ हुने खर्चको पनि ७५ प्रतिशत शोधभर्ना हुने छ।
उद्योग स्थापनाका लागि आवश्यक पर्ने मेसिन आयात गर्दा लाग्ने भन्सार, अन्तःशुल्क र भ्याट छुट हुनेछ।