
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधवारदेखि सुरक्षा र मुद्दा बाहेकका सबै सेवा बन्द गरिएको हो ।
कार्यालयको नागरिकता शाखाका २ कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणका लागि तयारी भइरहेको उनले बताइन् ।
निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्दा जोखिम पनि बढेकाले मंगलवार एक सूचना जारी गर्दै सेवा बन्द गरिएको र यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको जनाइएको छ ।
दैनिक १५–२० वटासम्म नागरिकता लिने र सोही संख्यामा राहदानी लिन सेवाग्राही आउने गरेको निमित्त प्रजिअ खतिवडाले बताइन् ।
मालपोत कार्यालयका सेवा समेत बन्द गरिएको छ । साउन २२ गते एक सूचना जारी गर्दै २ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए ।
जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको दर बढेकाले जिल्ला अस्पतालमा अहिले बिरामीको चाप बढेको निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो जानकारीअनुसार अहिलेसम्म १ हजार ७०७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकामा १ हजार ४६३ निको भएका र १३ जनाको मृत्यु भएको छ ।