काठमाडौं, २९ जेठ — सिरियल किलर चार्ल्स शोभराजको सोमवार गंगालाल अस्पतालमा ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ । उनी क्रमशः निको हुँदै गएको उनका चिकित्सकले बताएका छन् ।
डा रामेश कोइरालाको नेतृत्वमा रहेको एक समूहले शोभराजको शल्यक्रिया गरेको थियो ।

शेभराजलाई नेपाल, भारत र एसियाका अन्य मुलुकमा २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ ।
‘हो उनीसँग मुटु छ र मैले भित्रको भल्भ मिलाइदिएँ । अहिले उनी निको हुँदैछन्,’ डा कोइरालाले ट्विटरमा लेखे । उनले ७३ वर्षीय शोभराजलाई अपरेसन थिएटरभित्र लानुअघि उनीसँग खिचिएको तस्वीर राख्दै लेखे ।
शोभराजसँग सन् २००८ मा इन्गेजमेन्ट गरेकी निशिता विश्वासले शल्यक्रियाअघि रक्तदान गरेकी थिइन् । उनी आफ्नी आमाका साथ अस्पताल पुगेकी थिइन् । निशिताकी आमा शकुन्तला थापा अधिवक्ता हुन् र उनले अदालतमा शोभराजको मुद्दा लडेकी थिइन् ।
शोभराज र विश्वासको रक्तसमूह ओ नेगेटिभ भएको अस्पताल स्रोतले बतायो ।
विगत १२ वर्षदेखि केन्द्रीय कारागारमा कारावास सजाय भोगिरहेका शोभराजको मुटुको भल्भ लिक भएको पत्ता लागेको थियो । उनी कारागारमा हालै बेहोश भएपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई मित्रल भल्भ लिक भएको पत्ता लाग्यो ।
सर्वोच्च अदालतले उनलाई अमेरिकी पर्यटक कोनी जो ब्रोन्जिचको सन् १९७५ मा हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको थियो । उनले अनेकौं पर्यटकलाई मारेको आरोप छ ।