सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिर नजिक बुधवार अपराह्न भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा झापाको दमक नगरपालिकाका ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमा नै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको १८ नम्बर बाहिनी गाईघाट उदयपुरको प्रदेश नम्बर ३–०१–००१ ग ३७२५ नम्बरको वनटेन गाडी र विपरीत दिशाबाट आउँदै गरेको मे१च ६९२५ नम्बरको पीकअप गाडी एकआपसमा ठक्कर खाँदा पीकअप चालक शर्माको मृत्यु भएको हो ।
पीकअप गाडीका सहचालक सुनसरीको इटहरी नगरपालिका–५ का ५२ वर्षीया भवानी र नेपाली सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का ४२ वर्षीय १८ नम्बर बाहिनी उदयपुरमा कार्यरत जमदार जीवन गरी घाइते भएका छन् ।
घाइतलाई उपचारका लागि अस्पताल पठाइएको र सेनाको वनटन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।