
अफगानिस्तानमा तालिबानले लगातार विजय पाउँदै जाँदा ह्वाइट हाउसले अमेरिकी सेना फिर्ता लैजाने राष्ट्रपति जो बाइडनको निर्णयलाई बचाउ गर्न खोजेको छ ।
तालिबानको विवेक जगाउने प्रयास अमेरिकाले गरेको छ ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पिसाकीले अफगान सरकारी सुरक्षाबलले तालिबानका विरुद्ध संघर्ष गरिरहेको स्वीकार गरिन् । तर त्यससँगै उनले थपिन्, ‘तालिबानले अन्तर्राष्ट्रिय समुदायमा कस्तो भूमिका निर्वाह गर्ने हो भन्ने विषयमा मूल्यांकन गर्नुपर्ने हुन्छ ।’
तालिबानलाई वार्ताको टेबलमा ल्याउनका लागि अभिप्रेरित गर्ने अमेरिकाको रणनीतिअन्तर्गत यो बयान आएको हो ।
तर पिसाकीको यो भनाइलाई अमेरिकामै गिल्ला गरिएको छ ।
‘पिसाकीले तालिबानलाई मानवअधिकार परिषदमा सीट दिएर मर्यादा प्रदान गर्न खोज्न सक्दिनन् वा ग्रेटा थनबर्गसँग मिलेर विश्व तापक्रमका विषयमा बैठक गर्ने अपेक्षा राख्न मिल्दैन,’ हेरिटेज फाउन्डेसनमा राष्ट्रिय सुरक्षा विज्ञ जिम काराफानोले बताए ।
‘बाइडन प्रशासन यस विषयमा रनभुल्ल देखिन्छ ।’
सामाजिक सञ्जालमा अन्य टिप्पणीकारहरूले पिसाकीको टिप्पणीको मजाक उडाउँदै तालिबानले वर्षौंको द्वन्द्व तथा दुर्व्यवहारपछि अचानक दिशापरिवर्तन गर्ला भनी सोच्नु मूर्खतापूर्ण रहेको बताए ।