२८ जेठ २०८३, बिहीबार

कार्यालयको धर्ना र अनशन छल्न सभापति देउवाको निजी निवासमा केन्द्रीय कार्यसमिति बैठक

कार्यालयको धर्ना र अनशन छल्न सभापति देउवाको निजी निवासमा केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बस्ने भएको छ । बिहीवार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुविधा सम्पन्न पार्टी कार्यालय हुँदाहुँदै देउवाले आफ्नै निवासमा केन्द्रीय समितिको बैठक राख्न लागेका हुन् । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताका विषयमा कार्यकर्ता अनशन बसिरहेको हुँदा सभापति देउवाले पार्टी कार्यालय छलेर निवासमा बैठक राखेका छन् । 

कांग्रेसले क्रियाशील सदस्यता विवादकै कारण निर्धारित मितिमा महाधिवेशन गर्न नसक्ने भएको छ । 

पार्टी कार्यालय बीपी स्मृति भवनमा बैठकमा सहभागी हुन जाँदा अनशन र धर्नामा बसेका कार्यकर्ताको आक्रोश सुन्नुपर्ने भएकाले पनि देउवाले आफ्नो निजी निवासमा बैठक राखेको हुनसक्ने कांग्रेसकै नेताहरू बताउँछन् । 

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पार्टीका बैठक र भेलाहरू प्रधानमन्त्री निवास वालुवाटारमा नराख्ने निर्णय गरेका छन् । त्यो निर्णयले बालुवाटारमा बैठक राख्न नमिलेपछि केन्द्रीय कार्यालयलाई छायाँमा पारेर देउवाले निवासमा बैठक बोलाएका छन् । 

बिहीवारको बैठकमा कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल हुने बताइएको छ । 

कांग्रेसमा सभापति देउवा पक्षले महाधिवेशन सारेर मंसिरमा गर्नुपर्ने बताइरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौमा महाधिवेशन उद्घाटन गरेर असोजमा सम्पन्न गर्नुपर्ने विकल्प अघि सारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्