०१ असार २०८३, सोमबार

बागलुङमा आजदेखि कडा निषेधाज्ञा

साउन २८, २०७८
बागलुङमा आजदेखि कडा निषेधाज्ञा

कडा प्रावधानसहित बागलुङमा आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ ।

अत्यावश्य बाहेकका सबै सेवा बन्द हुने गरी बिहीवार बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो ।

यसअघि गत मंगलवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो ।

केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमद्वारा जारी निषेधाज्ञाको आदेशअनुसार सबै खाले सार्वजनिक/निजी यातायात बन्द भएका छन् ।

बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी/गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न र पशुपक्षीका पसल हरेक आइतवार, बुधवार र शुक्रवार मात्र सञ्चालन हुनेछन् ।

तरकारी, फलफूल, दूध, मासु, पानीलगायत अत्यावश्यक सेवाका पसल स्वास्थ्य मापदण्डको पालना गरेर दैनिक बिहान १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । विवाहलगायत संस्कारजन्य कार्यमा पनि एक पक्षबाट जम्मा सात जना मात्र सहभागी भएर घरमै गर्नुपर्ने नियम तोकिएको छ ।

काम नपरी घरबाहिर ननिस्कन र भीडभाडजन्य कुनै पनि क्रियाकलाप नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा र व्यावसायिक तालिम परिषद्बाट सञ्चालन हुने पूर्व निर्धारित परीक्षा भने सञ्चालन हुने जनाइएको छ ।

कोभिड–१९ विरुद्धको खोप अभियानले भने निषेधाज्ञामा पनि निरन्तरता पाउने केन्द्रले जनाएको छ । एम्बुलेन्स, दमकल, शववहानलगायत अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधन सञ्चालनमा भने कुनै अवरोध छैन । 

सदरमुकामदेखि जिल्लाका विभिन्न भेगमा हुने खाद्यान्नको ढुवानीका लागि आइतवार, बुधवार र शुक्रवार सवारीसाधन चलाउने दिइने भएको छ । बागलुङ भएर अन्य निषेधाज्ञा नभएका जिल्लामा जाने सवारीसाधनले भने जिल्लाभित्र यात्रु चढाउन र ओराल्न समेत नपाउने भएका छन् ।

दोस्रो चरणको महामारी भित्रिएपछि गत वैशाख तेस्रो सातादेखि निषेधाज्ञा जारी छ । बीचमा संक्रमणदर केही घटेपछि खुकुलो पारिएको निषेधाज्ञा पुनः संक्रमण बढेसँगै कडा पारिएको हो । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६४८ छ ।

कोरोना संक्रमणका कारण ६३ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्