
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आकस्मिक अनुगमन गरेको छ ।
केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय इटहरीको टोलीले बिहीवार आकस्मिक अनुगमन गरेको छ ।
प्रतिष्ठानमा अनुगमन गर्दै टोलीले केही कागज समेत नियन्त्रणमा लिएको छ ।
प्रतिष्ठानमा अनियमितता बढेको भन्दै चिकित्सक तथा कर्मचारीले आन्दोलन गरिरहेका छन् । औषधि, उपकरण, इन्टरनेट विद्युत् आपूर्ति तथा कोभिडको समयमा दिएको अतिरिक्त भत्तामा समेत भ्रष्टाचार भएको भन्दै चिकित्सक तथा कर्मचारीले लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।
उपकूलपति डा. ज्ञानेन्द्र गिरी र रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी आएपछि भ्रष्टाचार बढेको आन्दोलनरत पक्षको आरोप रहेको छ । धरानमा आकस्मिक अनुगमन गर्दा अख्तियार केन्द्र र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएका ६ जनाको टोलीले कागजात नियन्त्रणमा लिएको छ ।
आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले गठन गरेको गठित टोलीले समेत प्रतिष्ठानमा भ्रष्टाचार बढेको जनाएको थियो ।