
प्रतिनिधि सभाको बिहीवारको बैठकमा मेलम्ची खानेपानी आयोजनालाई बाढी पहिराले प्रभावित बनाएकाले काठमाडौँ उपत्यकाको खानेपानीका लागि उचित व्यवस्थापन गर्नुपर्नेलगायत जनजीवनका विषयमा सरकारसँग माग गरिएको छ ।
बैठकको शून्य समयमा नेकपा एमालेका सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको खानेपानीको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।
गत असार १ गतेको बाढी पहिराका कारण मेलम्ची खानेपानी आयोजनस्थलमा क्षति पुगेको छ ।
नेपाली कांग्रेसका उमा रेग्मीले असारे विकासले बजेट दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही गर्न माग गरिन् ।
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले कोरोना कहरबाट प्रभावित बालबालिकालाई उपचार गर्न माग गरे भने सांसद अतहर कमाल मुसलमानले सुकुम्बासी समस्या आयोग विघटन गरिएकामा आपत्ति प्रकट गरे ।
सांसद आशाकुमारी विकले जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न आग्रह गरिन् । सांसद इन्दुकुमारी शर्माले जनकपुर–जलेश्वर सडक दशकौंदेखि जीर्ण भएकाले मर्मत गर्न आग्रह गरिन् ।