
रुसको सुदूरपूर्वमा रहेको कामचात्का प्रायद्वीपमा १६ जना व्यक्ति सवार हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठजना मारिएका छन् ।
हेलिकप्टर दुर्घटनामा पर्नेबित्तिकै एक प्राकृतिक आरक्षका कर्मचारीहरू घटनास्थल अर्थात् तालमा द्रुत गतिको डुंगा चढेर तत्कालै पुगेका थिए । बाँचेका आठजना तालमा पौडी खेलेर किनारमा पुगेका हुन् ।
बाँचेकामध्ये दुईजनालाई नराम्ररी चोटपटक लागेको बताइएको छ । तालमा ५ डिग्री सेल्सियसभन्दा कम तापक्रम भएकाले उनीहरू लामो समय बाँच्ने सम्भावना न्यून थियो ।
डुबिरहेको हेलिकप्टरको पछिल्तिर रहेको लगेज राख्ने ढोकाबाट यात्रुहरू भागेको उक्त क्षेत्रका गभर्नरले सरकारी टेलिभिजनलाई बताए ।
‘मृत्यु भएका मानिस कुर्लिस्कोए तालको पिँधमा पुगेको हुनुपर्छ,’ इन्टरफ्याक्स समाचार संस्थाले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै खबर दियो ।
बाक्लो कुहिरोले ढाकेको तालमा गोताखोरहरू प्रवेश गरेको सरकारी टीभीमा देखिएको थियो । हेलिकप्टरको भग्नावशेष भएको ठाउँ निकै गहिरो भएकाले उनीहरू त्यहाँसम्म पुग्न नसकेको कामचात्काका गभर्नरले बताए ।
तालमा बाक्लो कुहिरो भएकैले हेलिकप्टर चालकले जमीन भन्ठानेर पानीको सतहमा अवतरण गरेको हुनसक्ने प्रहरीका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार संस्थाले खबर दियो ।