३१ असार २०८३, बुधबार

ढिलो गरी शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक

ढिलो गरी शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक
फाइल तस्वीर

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक ढिलो गरी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुरू भएको छ ।

नेपाली कांग्रेस सत्तामा सहभागी भएपछिको यो पहिलो केन्द्रीय समितिको बैठक हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा क्रियाशिल सदस्यताको विषयलाई लिएर कार्यकर्ताहरु धर्ना र अनसनमा बसेको हुनाले सभापतिले आफ्नै निवासमा बैठक बोलाएका हुन् ।

आज दिउँसो दुई बजेको लागि बोलाइएको बैठक भर्खरै शुरू भएको हो । 

बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले सत्ता सम्हाले पछिको पहिलो बैठक भएकाले समसामयिक राजनीतिक विषयमा पनि छलफल गरी निष्कर्षमा निकालिने उनले बताए । 

‘केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक जीवन र समसामयिक विषयमा घनिभूत छलफल गरेर निष्कर्षमा पुग्छौं’, प्रवक्ता शर्माले भने । 

त्यसबाहेक, क्रियाशिल सदस्यता छानविन समितिले पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने उनले बताए । 

त्यसैगरी, विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको प्रतिवेदन बारेमा पनि बैठकमा छलफल हुने एजेण्डा तय भएको छ । 

बैठकमा सबैजसो केन्द्रीय सदस्यहरूले धारणा राख्ने भएकाले बैठक भोलीसम्म जारी रहने शर्माले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्