
कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ ।
नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन प्रभावकारी बनाउने प्रहरीले उक्त अभियानलाई पुनः प्रभावकारी बनाउन थालेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
“सङ्क्रमणबाट ‘आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले ७७ वटै जिल्लामा अभियान कै रुपमा सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा कोभिड–१९ को वृद्धिसँगै तेस्रो भेरियन्ट आउनसक्ने चेतावनीका बीच मुलुकभर नै सचेत हुन सरकारले नागरिकसँग आग्रह गरेको छ ।