
पोखरामै पहिलोपटक अस्पताल डिस्चार्ज पछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले फेवा केयर होम प्रा.लिको स्थापना भएको छ ।
पोखराका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरू, २ दशक बढि नर्सिङ्ग सेवामा काम गरेकी मेट्रोन, अनुभवी फिजियोथेरापिस्ट, स्वास्थ्य क्षेत्रमा दशकौं लामो समय काम गरेका स्वास्थ्य व्यवसायी, खाना तथा पोषण विज्ञलगायतकोे संयुक्त पहलमा केयर होमको स्थापना गरिएको हो ।
विशेषगरी अस्पताल डिस्चार्ज पछिका बिरामीहरु जसलाई अस्पतालमै भर्ना गरी राख्न पनि आवश्यक छैन र घरमा स्याहार तथा हेरचाहको लागि जटिलता र जोखिम छ त्यस्ता खालका बिरामीहरुलाई यस सेन्टरमा राख्ने गरिन्छ ।
त्यसका साथै टाढा–टाढा बाट उपचारका लागि पोखरामा आउने बिरामीहरु जसलाई उपचार पश्चात नियमित फलोअपमा अस्पताल गईराख्नुपर्ने हुन्छ,त्यस्ता बिरामीहरु आईजाई गरिराख्न खर्च, समय र जोखिम बढी हुने हुँदा त्यस आवासीय स्वास्थ्य सेवा समेत प्रवन्ध गर्न संस्थालाई अगाडि बढाइएको कम्पनीले जानकारी दिएको छ ।
अस्पताल डिस्चार्ज पछि पनि कतिपय बिरामीहरुको अवस्था नाजुक हुने र त्यस्ता बिरामीहरुलाई घरमा लैजाँदा अवस्था अझ बिग्रन सक्ने हुँदा बिरामीको अवस्था सामान्य हुँदासम्मको लागि यस सेन्टरमा राख्न सकिन्छ ।
बिशेषगरी अक्सिजन दिई राख्नुपर्ने, ट्रयाक्टेस्टोमी, बेड शोर,सेरिब्रलपालेसी, नियमित फिजियोथेरापी चाहिने बिरामीहरुले यस सेन्टरमा सेवा लिन सक्ने सर्जन डा. कोबिद नेपालले बताएका छन् ।