कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् ।
सरकारले शहरी क्षेत्रमा खोप अभियान द्रुतगतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् ।
सरकारले जारी गरेको खोप अभियानअन्तर्गत शुक्रवारसम्मको तथ्यांक विश्लेषण गर्दा बागमती प्रदेशमा १३ लाख ५६ हजार ६१८ जनाले पूर्ण खोप लगाउँदा कर्णाली प्रदेशका १ लाख १४ हजार ३०४ जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।
कर्णाली प्रदेशमा जनसंख्या थोरै भए पनि बागमती प्रदेशको तुलनामा सो प्रदेशमा खोप लगाउने संख्या निकै न्यून हो । अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको खोप प्राथमिकता योजनाअनुसार खोप अभियान सञ्चालन हुन सकेको छैन ।
सोर्सफोर्स रोकिन नसक्दा लक्षित समूहभन्दा बाहिरका नागरिकले समेत खोप लगाइरहेका छन् । तर सरकारले निगरानी बढाउन सकेको छैन ।
१ नम्बर प्रदेशमा ३ लाख ८ हजार २३७, २ नम्बर प्रदेशमा ३ लाख ७३ हजार ५०३, गण्डकी प्रदेशमा २ लाख ९१ हजार ९०६, सुदूरपश्चिम प्रदेशमा २ लाख १५ हजार ५३७ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।
सरकारले आगामी असोजभित्र खोप लगाउन योग्य एकतिहाइ जनसंख्यालाई खोप लगाइसक्ने जनाएको छ । हालसम्म ३२ लाख २३ हजार ६९३ जनाले पूर्ण खोप लगाएका छन् ।
सरकारले २ करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । यसरी हेर्दा अझै २ करोड ३३ लाख नागरिकले पूर्ण खोप लगाउनै बाँकी छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म नेपालमा १ करोड ८ लाख ६० हजार १७० मात्रा खोप भित्रिएको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी माघसम्म कूल ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप अभियान तीव्र रूपमा अघि बढाइएको बताए । उनले भने, ‘सबैले आफ्नो पालोअनुसार खोप लगाउनुपर्छ । खोप अभियान निरन्तर सञ्चालन गरिरहेका छौं ।’
देशभर कोरोना संक्रमणदर बढ्दो छ । शुक्रवार देशभर ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
देशभर कूल संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ । शुक्रवार २ हजार ११८ जना संक्रमित निको भएका छन् । यससँगै देशभर निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।
संक्रमितमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । देशभर ४३९ जना क्वारेन्टाइनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले संक्रमण जोखिम कायम रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचक्र्याइँ नगर्न आग्रह गर्दै आएको छ । राजधानी दैनिकमा खबर छ ।