म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा उक्लने पदमार्ग निर्माण भएको छ ।
मुन्द्रा चढाउने डाँडाको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो ।
भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुंगा हँुदै बराह गुफादेखि मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग बनाएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।
‘मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार बनाएका हौं,’ उनले भने, ‘सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तव्य पहिचान गरेका छौं ।’
आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट २ किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको गाउँपालिकाका इन्जिनीयर ईश्वरबहादुर भण्डारीले बताए ।
अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुंगाको सिँढी तथा तेर्सो ठाउँमा माटो खनेर पदमार्ग बनाइएको छ ।
पदमार्ग निर्माण भएपछि लडेर दुर्घटना हुने, बाटो अलमलिएर हराउने समस्या हटेको छ । झाडी हटाएर सरसफाइ गरिएको छ । मान्द्रेढुंगादेखि ५ घण्टा पैदल हिँडेपछि मुन्द्रा चढाउने डाँडामा पुगिन्छ । पदमार्ग निर्माणका लागि करीब २ महिना जंगलमै बास बसेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर कामीले बताए ।
मजदुरलाई जंगलमै अस्थायी टहरा बनाएर राखिएको थियो । दैनिक ५० जनाको दरमा मजदूर परिचालन भएका थिए । मुन्द्रा चढाउने डाँडा समुद्री सतहदेखि ३ हजार ४०० मिटरको उचाइमा अवस्थित छ । यो बाटो भएर धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ ।
यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे«, मनास्लुलगायत २० भन्दा बढी हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
खानेपानी, शौचालय र पाहुना आश्रयस्थलको आवश्यकता छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको रु सात लाख सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुंगादेखि मान्द्रेढुंगा जोड्ने पदमार्ग निर्माण भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर गर्बुजाले १४ जना युवाले एक महिनासम्म श्रम गरेर २ किलोमिटर पदमार्ग बनाएको बताए । पदमार्ग निर्माण भएपछि मान्द्रेढुंगा र ठूलोबगरका करीब १५० घरधुरीलाई आवतजावत गर्न सहज भएको छ ।
मान्द्रेढुंगाका वासिन्दालाई ठूलोबगर हुँदै गाउँपालिकाको केन्द्र पोखरेबगर र ठूलोबगरका बासिन्दालाई वडा कार्यालय भएको मान्द्रेढुंगा आवतजावत गर्न सुविधा पुगेको हो । यो गाउँपालिकाको केन्द्र पोखरेबगर र वडा कार्यालय भएको मान्द्रेढुंगा आवतजावत गर्ने छोटो दूरीको पैदलमार्ग हो ।
अर्को वर्ष सिंगारेढुंगादेखि नागढुंगातर्फ जोड्ने पदमार्ग बनाएर योजनालाई पूर्णता दिने योजना रहेको वडाध्यक्ष फगामीले बताए ।