१४ असार २०८३, आइतबार

कोरोनाको कहरबीच ठमेलमा चारतारे होटल सञ्चालन

साउन ३०, २०७८
कोरोनाको कहरबीच ठमेलमा चारतारे होटल सञ्चालन
प्रतिकात्मक तस्वीर

राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरबीच २ अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना संक्रमण बढिरहेको बेलामा डालिया इभेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौं’ सञ्चालनमा आएको छ ।

होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । चारतारे होटल नेपाल भ्रमण वर्ष २०२० को शुरूआतमा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण १ वर्ष ढिला गरी सञ्चालनमा आएको हो । 

मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको होटल विश्वमा ९ हजार २०० भन्दा बढी रहेका छन् । रमदा इन्कोरको भारतमा ५२ र चीनमा १ हजार ४०० भन्दा बढी चेन होटल छन् ।

विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् । नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन् । 

होटलका सञ्चालक एवं डालिया इभेस्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पङ्गेनी भर्खरै सञ्चालनमा आएको रमदा होटल ठमेलमा अन्तर्राष्ट्रिय ब्राण्डको चेन होटल भएको बताउँछन् । ‘अहिले ठमेलमा सञ्चालनमा आएको रमदा होटल चाँडै नै चितवनको सौराहामा सञ्चालन गर्दैछौं,’ पङ्गेनी भन्छन् ।

काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको ९ तले होटलभित्र २ वटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र २ वटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौं उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ । 

होटलका महाप्रबन्धक महेश फुयाँल रमदा होटलले २ वटा रेस्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचि अनुसारको खानेकुरा प्रदान गर्दै आएको बताउँछन् ।

‘एउटा रेस्टुराँमार्फत स्पेनिस, अरविक, टर्किस, मोरक्कन र अर्को रेस्टुराँमार्फत पानेसियन र इण्डियन लगायतका खाना प्रदान गरेका छौं,’ उनी भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्