
ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीले पत्रकार निमबहादुर रिजालको अग्रसरतामा सन्धिखर्क नगरपालिका–४ वांगलामा बैकुण्ठपुरी संग्रहालय स्थापना गरेको छ ।
संग्रहालयमा पुराना सामग्री राखिएका छन् । संग्रहालयमा पुग्दा पुराना पुस्ताले प्रयोग गरेका सामग्री देख्न सकिने संग्रहालयका अध्यक्ष रिजालले बताए ।
कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी र दही जमाउने काठको आरी राखिएको छ ।
उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पल लगायतका वस्तु संग्रहालयको मुख्य आकर्षणका रूपमा रहेको बैकुण्ठपुरी संग्रहालयका व्यवस्थापक उमा रिजालले बताइन् ।
पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैटो, भजनमा बजाउने खैजेडु, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ र बाँसको कागियो लगायतका थुप्रै वस्तु संग्रहालयमा राखिएको छ ।