
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नम्बर १६ को कार्यालय भवन शिलान्यास गरेका छन् ।
शिलान्यासपछि प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार उक्त भवन शिलान्यास गरेको बताए ।
‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौं भनेर घोषणा गरेका थियौँ,’ उनले भने, ‘वडा–१६ को भवनको आज शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।’
यसअघि वडा नम्बर ३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा शुरू भइसकेको जानकारी दिए ।
‘सबै वडालाई समयानुकुल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ,’ उनले भन, ‘हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ ।’
काठमाडौं महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार वडा–२, ६, १२, २०, २१, २२, २९ र ३१ निर्माण प्रक्रियामा छन् ।