
नवजात बालबालिकालाई कहाँ कतिबेला भोक लाग्छ र स्तनपान गराउनुपर्छ कुनै यकिन हुँदैन । तर इंग्ल्यान्डमा अमांडा रग्गेरीले कार रोकेर स्तनपान गराउँदा २८ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
अमांडालाई गरिएको जरिवाना स्तनपानबापत होइन तर उनले अनाधिकृत ठाउँमा कार रोकेको आरोप छ । उनलाई १७० पाउन्ड जरिवाना गरिएको हो ।
कारमा यात्रा गर्दागर्दै बच्चा धेरै रोएपछि अमांडाले सोचिन्, भोक लाग्यो होला । उनले त्यही कार रोकेर स्तनपान गराउन थालिन् । कार रोकेको क्षेत्र सुनसान थियो, त्यसैले उनले निर्धक्क स्तनपान गराइन् ।
स्तनपान गराएपछि उनी घर पुगिन् । तर १ हप्तापछि उनको घरमा एउटा सूचना आयो, जसमा जरिवानाबारे उल्लेख गरिएको थियो ।
स्मार्ट पार्किङ लिमिटेडबाट आएको सूचनामा २१ मिनेट अवैध रूपमा कार पार्किङ गरिएकाले जरिवाना लाग्ने उल्लेख थियो । सो क्षेत्रमा लिमिटेडले नै कार पार्किङको प्रबन्ध मिलाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नजिकैको पर्यटकीय स्थल माउसहोलको समुद्री तटमा १ रात बिताउँदा समेत यतिधेरै बिल नआउने भएपनि चर्काे जरिवाना गरिएको भन्दै आलोचना भइरहेको छ ।