१३ असार २०८३, शनिबार

बस दुर्घटनामा शिशुको मृत्यु, चारजना गम्भीर घाइते

कात्तिक २०, २०७४
बस दुर्घटनामा शिशुको मृत्यु, चारजना गम्भीर घाइते

खोटाङ, ३० जेठ– दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।

बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

मध्यपहाडी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा रुपाकोट नगरपालिका–५ लफ्याङका ३० वर्षीया अनु राई, ३२ वर्षीया मनकला राई, १४ महिनाका नयन राई र २१ महिनाका समनिया राई गम्भीर घाइते भएका छन् ।

उनीहरुको थप उपचारका लागि छिमेकी जिल्ला उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

बसमा सवार अन्य यात्रुलाई इलाका प्रहरी चौकी, हलेसीबाट खटिएका प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरी हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम स्वास्थ्य चौकी पुर्याइएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

राति पानी परिरहेको समयमा बसलाई घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै बस चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको स्थानीयले बताएका छन् । दुर्घटनास्थल जयरामघाटभन्दा करिब तीन किलोमिटर माथि पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्