३१ जेठ २०८३, आइतबार

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन

भदौ २, २०७८
चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन

चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ ।

जरोकिलो प्रतिष्ठानका संकल्पकर्ता डा. निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा. यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा.डा. नारायणप्रसाद गौतम, सनातन धर्म महासंघका उपाध्यक्ष सह प्रा.डा. माधवप्रसाद पाण्डेय र जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल रहेको निर्देशन समिति गठन गरिएको छ । 

जरोकिलो प्रतिष्ठानका उपाध्यक्ष डा. माधवशरण उपाध्यायको संयोजकत्वमा सबै संस्थाका प्रतिनिधि सदस्य रहेको कार्यकारी परिषद् गठन गरिएको जनाइएको छ । परिषद्को सदस्यसचिवमा गोविन्द घिमिरे र सदस्यहरूमा रोहिणी तिमल्सिना, सरस्वती चौलागाईं, गार्गी चौलागाइँ लगायत ११ सदस्य रहेको संयोजक अधिकारीले जानकारी दिए ।

यस वर्ष नेपाल, अमेरिका र बेलायतका ८ वटा संस्था मिलेर चौथो विश्व संस्कृत दिवस मनाउन लागिएको हो । समितिले श्रावण शुक्ल पूर्णिमाका दिन भदौ ६ गते विश्व संस्कृत दिवसका अवसरमा वाल्मीकि विद्यापीठमा कार्यपत्र सहितको अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दैछ ।
 
भौतिक रूपमा २५ जना जम्मा भई गरिने कार्यक्रममा इच्छुक जति जुम प्रविधिबाट जोडिन सक्ने समिति संयोजक अधिकारीले जानकारी दिए । कार्यक्रममा उपाध्यायले ‘संस्कृत भाषाको वर्तमान स्थिति’ र काठमाडौं विश्वविद्यालयका सहप्रा.डा. अजय रिसालले ‘मनोचिकित्सामा संस्कृत’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

दिवस मनाउन अमेरिकाका २ संस्था सहृदयता इन्टरनेसनल र विश्व भूटानी हिन्दू संगठन र बेलायतको नेपाली हिन्दू फोरम पनि सहभागी भएका छन् । चौथो विश्व संस्कृत दिवसको प्रमुख अतिथिका रूपमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कूलपति प्रा.डा. राजाराम शुक्ललाई निमन्त्रणा गरिएको छ ।

प्रतिष्ठानको नेतृत्वमा विक्रम संवत् २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । दिवसलाई संयुक्त राष्ट्रसंघबाट घोषणा गराई अन्तर्राष्ट्रिय मान्यता दिलाउने अभियानमा पनि प्रतिष्ठान लागेको छ ।

राष्ट्रसंघमा यससम्बन्धी प्रस्ताव नेपालले राख्नुपर्ने माग राख्दै संस्कृत क्षेत्रमा कार्यरत विश्वविद्यालय, विभाग एवं संस्थाले अभियान चलाउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्