
बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो ।
यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मकरूपले लिएको र सङ्घीय सरकारले सःशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।
विज्ञप्तिमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र सङ्घर्ष समितिबीच विभिन्न सहमति भएपछि ताला खोलिएको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिए ।