२५ असार २०८३, बिहीबार

तालिबानले सत्ता नलिइसकेको अवस्थामा सालेहले चलाइरहेका छन् अफगानिस्तान, को हुन् उनी ?

भदौ ३, २०७८
तालिबानले सत्ता नलिइसकेको अवस्थामा सालेहले चलाइरहेका छन् अफगानिस्तान, को हुन् उनी ?

अफगानिस्तानको राजधानी काबुलमा आइतवार तालिबान लडाकूहरू आइपुगेपछि देशका राष्ट्रपति अशरफ गानी पलायन भएको अवस्था छ । 

तालिबानले सत्ता चलाउनका लागि प्रयास गरिरहेको छ ।

अहिले कसले देशको शासन चलाइरहेको छ त भन्ने जिज्ञासा धेरैजनालाई छ । 

देशका उपराष्ट्रपति अमरल्लाह सालेहले मंगलवार राष्ट्रपति गानीको अनुपस्थितिमा आफू वैध कामचलाउ राष्ट्रपति भएको बताए । 

अफगानिस्तानको संविधानलाई उद्धृत गर्दै सालेहले आफू सबै नेताहरूको समर्थन लिनका लागि सम्पर्कमा रहेको बताएका छन् । 

तालिबानले हत्या गराएका नर्दन अलायन्सका नेता अहमद शाह मसूदका अनुयायी सालेहले तालिबानसँग मिलेर कुनै हालतमा सत्ता नचलाउने बताएका छन् । उनले वर्षौंदेखि पाकिस्तानको पनि आलोचना गर्दै आएका छन् । 

४८ वर्षीय सालेह ताजिकहरूको प्रभुत्व रहेको पंजशिर उपत्यकाका निवासी हुन् । सन् १९९२ मा सोभियत संघले समर्थन गरेका शासक मोहम्मद नजिबुल्लाह सत्ताच्युत भएपछि शुरू भएको गृहयुद्धको समयमा तालिबानविरोधी नर्दन अलायन्सका उनी सदस्य थिए । 

सन् १९९७ मा अहमद शाह मसूदले सालेहलाई ताजिकिस्तानमा नर्दन अलायन्सको सम्पर्क कार्यालयमा काम गर्न पठाएका थिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निकायसँग सम्पर्क गर्ने गर्थे । 

अमेरिकी नेतृत्वको गठबन्धनले तालिबानलाई सत्ताच्युत गरेको तीन वर्षपछि सन् २००४ मा सालेह अफगानिस्तानको गुप्तचर निकायका प्रमुख बनेका थिए । उनी त्यस पदमा सन् २०१० सम्म थिए । 

तत्कालीन राष्ट्रपति हामिद कारजाईले तालिबानप्रति नरम दृष्टिकोण राख्न थालेर पाकिस्तानको समर्थन लिन थालेपछि उनले आलोचना गरेका थिए । 

त्यसपछि उनले तालिबानको विरोध गर्ने राजनीतिक दल बासेज–ए मिल्ली खोलेका थिए । 

सन् २०१७ मा सालेह राष्ट्रपति अशरफ गानीको मन्त्रिमण्डलमा सहभागी थिए । सन् २०१८ मा उनलाई गृहमन्त्री बनाइयो । सन् २०२० को फेब्रुअरी महिनामा उनी देशका उपराष्ट्रपति बने ।

सालेहको हत्या गर्ने थुप्रै प्रयास भइसकेका छन् । पछिल्लोपटक सन् २०२० मा उनको हत्या प्रयास गरिँदा १० जना मानिस मरेका थिए । दोहामा चलिरहेको अफगान–तालिबान वार्तालाई भंग गर्ने कोशिशका रूपमा त्यसलाई लिइएको थियो । 

काबुल तालिबानको कब्जामा गएदेखि सालेह पंजशिर उपत्यकामा बसिरहेको बताइन्छ । अहमद मसूद तथा बिस्मिल्ला खान मोहम्मदीसँग मिलेर उनी तालिबानविरोधी मोर्चा सम्हालिरहेका छन् । 

उनले तालिबान खमेर रुजभन्दा पनि खराब भएको बताएका छन् । 

उनले थपे, ‘उनीहरूको पोलिटब्युरो पाकिस्तानमा छ र अनुहार लुकाएर बसिरहेको छ । उनीहरू नयाँ अफगानिस्तानको नयाँ वास्तविकताको सामना गर्न सक्दैनन् । राजनीतिक विषयलाई समाधान गर्न सशस्त्र संघर्ष गर्ने कुरालाई नयाँ अफगानिस्तानले पत्याउँदैन । पाकिस्तानको समर्थन नपाएमा तालिबान ६ महिनामा बिलाउँछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्