
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएका छन् ।
न्यूज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामा प्रश्न उठाएका हुन् ।
एमालेले कारबाही गरेको १४ जना सांसदको नाम सभामुखले सूचना प्रकाशन नगरेको भन्दै ओलीले आक्रोश व्यक्त गरेका छन् ।
ओलीले भनेका छन्, ‘संसदीय दलले कोही सांसदलाई निष्कासन गर्छ भने सभामुखले तत्काल त्यो नोटिस जारी गरिदिने हो । पहिले टोपबहादुर रायमाझी, लेखराज भट्टहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल उहाँले सुनाउनुभएको थियो । संसदमा सुनाउनुभएको थियो । सरिता गिरीको विषयमा पनि तत्काल सुनाउनुभएको थियो । अहिले ३ दिनदेखि के पर्खिएर बस्नुभएको छ ? एमालेले हटाएको सूचना किन टाँस्नुहुन्न उहाँ ? सभामुखको कर्तव्य त्यही हो ?’
पहिले–पहिले २४ घण्टाभित्र सूचना टाँस गरिसक्ने नजिर भएको दाबी गर्दै ओलीले भनेका छन्, ‘अहिले चाहिँ कागजपत्र झिकाउँछु, हेर्छु भन्ने ? सभामुख न्यायाधीश होइन । सभामुखले छानबिन गर्ने, फैसला गर्ने होइन ।’
अन्तर्वार्तामा ओलीले आक्रोश पोखेका छन्, ‘सभामुखले माओवादी कार्यकर्ता भएर एमालेको विरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो सभामुख ? उहाँ केलाई पर्खिरहनुभएको छ । अग्नि सापकोटाजीलाई सोध्न चाहन्छु – संसद चलाउनु छ कि छैन उहाँलाई ? मनमौजी ढंगले संसद चल्न सक्दैन । उहाँलाई सभामुख हुनु छ कि छैन ? पार्टी कार्यकर्ता भएर सभामुख भइरहन सकिँदैन । सभामुखको कुर्सीमा बसेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ । होइन भने उहाँले छोड्दिएहुन्छ ।’
सभामुखले निष्पक्ष भूमिका निर्वाह नगर्ने भए पार्टी कार्यकर्तामा फर्किने वा सभामुखको भूमिकामा काम गर्ने कुनै एक रोज्नुपर्ने ओलीले बताए ।
‘उहाँले रोज्नुपर्छ या त कार्यकर्तामा फर्किनुपर्छ होइन भने सभामुखको हैसियतमा निष्पक्ष ढंगले काम गर्नुपर्छ,’ उनले भने ।