०२ असार २०८३, मंगलबार

उजुरीको सुनुवाइ भएपछि आईसीयू जडान प्रक्रिया अगाडि बढ्यो

भदौ ३, २०७८
उजुरीको सुनुवाइ भएपछि आईसीयू जडान प्रक्रिया अगाडि बढ्यो
प्रतिकात्मक तस्वीर

संखुवासभास्थित जिल्ला अस्पताल खाँदबारीको आईसीयू उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाइ भएको छ ।

सार्वजनिक खरिद पुनरावलोकन समितिले उजुरीको फैसला सुनाएको हो ।

द मेडिकल सोलुसनले खरिद प्रक्रिया गलत भएको जनाउँदै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गर्न सो समितिमा उजुरी दिएको थियो । अस्पतालले गरेको खरिद प्रक्रिया गलत नभएको जनाउँदै सामग्री खरिदका लागि समितिले बुधवार जिल्ला अस्पताललाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिए ।

अध्यक्ष भीमकुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रक्रियामा त्रुटि नरहेको निष्कर्ष निकालेको थियो । उपकरण खरिदका लागि सबैभन्दा थोरै रकम कबोल गर्ने सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख छ । 

निर्णयसँगै अनियमितताको आरोप लगाउँदै पुनरावलोकन समितिमा उजुरी दिने सोलुसनको ३ लाख धरौटी रकम जफत गर्ने भनिएको उनले बताए ।

अस्पतालको आईसीयू सामग्री खरिदसम्बन्धी गरिएको बोलपत्र आह्वानमा ५ कम्पनीले बोलपत्र पेश गरेका थिए । तीमध्ये आर्थिक प्रस्तावमा बढी रकम पेश गर्ने र्‍यापिड ट्रेडर्सलाई अस्पतालले छनोट गरेको थियो । 

ट्रेडर्सको प्रस्ताव रकम बढी भए पनि सबैभन्दा गुणस्तरीय सामग्री उपलब्ध गराउने कबोल गरेको बायोमेट्रिक विशेषज्ञको सिफारिसअनुसार र्‍यापिडलाई छनोट गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो । निर्णयपछि सबैभन्दा न्यून रकम कबोल गर्ने सोलुसनले उजुरी दर्ता गराएको थियो ।

उजुरीपछि सार्वजनिक खरिद अवलोकन समितिले अनुसन्धान शुरूआत गरेको थियो ।

सार्वजनिक खरिद अवलोकन समितिको निर्णयसँगै आईसीयू खरिद प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । अब जति सक्दो चाँडो आइसीयू उपकरण जडान गरी सेवा सञ्चालन गरिने अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए । यसका लागि कुनिना गुठीले मासिक ३ लाख उपलब्ध गराउने सम्झौता गरिसकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्