
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति तनहुँले बिहीवार दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले खोपबारे बताएका हुन् ।
हालसम्म ८ लाख मानिसलाई पहिलो र ३ लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए । प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उनले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध गराउनु हो ।’
प्रदेशका १/२ जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भइरहेको उनले बताए ।
दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुँध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैलाई सचेत रहन आग्रह गरे ।
प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।
बाढीपहिराले प्रदेशका मनाङ, गोरखा, लमजुङ र तनहुँ जिल्लामा बढी क्षति भएको छ । गण्डकी प्रदेश सरकारको कार्यसम्पादन सुशासनमा उत्कृष्ट बन्नुपर्छ भन्ने उद्देश्यले कार्यालयबाट दिइने सेवामा मूल्यांकन थालिएको उनले बताए ।