
बुधवार रातिको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको निधन भएको छ ।
निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, ८ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।
राति करीब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोेसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै निधन भएको थियो ।
घटनामा परी गम्भीर घाइते भएका घरमूली श्यामबहादुर गलानलाई उपचारार्थ काठमाडौंस्थित ट्रमा सेन्टर पुर्याइएको प्रहरीले जनाएको छ । घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । उनको छाती तथा गर्धनमा गम्भीर चोट लागेको अचेत अवस्थामा उद्धार भएको र शारीरिक अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनास्थल सदरमुकाम धुञ्चेबाट करीब ५० किलोमिटर दक्षिणमा रहेको छ । शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ ।
बिहीवार बिहानैदेखि स्थानीय वासिन्दा, नेपाल प्रहरी, नेपाली सेना विष्णु दलगण र सशस्त्र प्रहरीसमेतको खोज उद्धार टोलीको अथक मेहनतबाट अपराह्न चारै जनाको शव फेला परेको थियो ।
गत हिउँदमा गलानको घरमाथि सडक निर्माण भएको र वर्षासँगै सोही सडकमा बगेको भलपानीको असरले पहिरोे जाँदा एकैघरका परिवारले ज्यान गुमाउनुपरेको स्थानीय वासिन्दाको भनाइ छ । थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।