
मोरङका २ पालिकाले खोलाबाट ढुंगा, गिट्टी, बालुवा संकलन गर्ने ठेक्का लगाउँदा मिलेमतो गरेको खुलेको छ ।
सुन्दरहरैँचा नगरपालिका र लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा मिलेमतो गरेको तथ्य महालेखापरीक्षकको प्रतिवेदनबाट बाहिरिएको छ ।
सुन्दरहरैँचामा २ ठेकेदार कम्पनीसँग मिलेमतो गरेर कम दरमा बोलकबोल गर्नेलाई खोला ठेक्का दिएर अनियमितता गरिएको प्रतिवेदनमा उल्लेख छ ।
खदम खोला, गछिया खोला र बुढीखोलाबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल संकलनका लागि आह्वान भएको बोलपत्रमा मिलेमतो देखिएको छ ।
२ ठेकेदार कम्पनीले मिलेमतो गरेर थोरै कबोल गर्ने कम्पनीले ठेक्का लिने गरी बाटो खोलिदिँदा नगरपालिकालाई २ करोड ५७ लाख रुपैयाँभन्दा बढी नोक्सानी भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
ठेक्का पाउने कम्पनी बिसार वेल्ही रियलस्टेटका सञ्चालक सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख (मेयर) शिवप्रसाद ढकालका बहिनीज्वाइँ हुन् ।
खोला ठेक्का प्रक्रियामा बढी बोल–कबोल गर्नेले ठेक्का स्वीकार नगरेपछि नगरपालिकाले कम्पनीलाई कालोसूचीमा नराखेबाट मिलेमतो देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार ई–बिडिङबाट बोलपत्र आह्वान गर्दा ११ कम्पनीले आवेदन दर्ता गरेका थिए । तीमध्ये स्वामिनारायण निर्माण सेवाले ८ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँमा ठेक्का प्रस्ताव गरेको थियो ।
सबैभन्दा बढी कबोल गर्ने स्वामिनारायणलाई नै नगरपालिकाले ठेक्का दिने निर्णय गरे पनि सम्झौता गर्न अस्वीकार गर्यो । त्यसपछि नगरपालिकाले दोस्रो ठूलो अंकमा प्रस्ताव गर्ने बिसार वेल्ही रियलस्टेट प्रालिसँग ६ करोड ३१ लाख ५० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बिसार वेल्ही रियलस्टेटका सञ्चालक मेयर ढकालका बहिनीज्वाइँ हुन् ।
दुवै कम्पनीको मिलेमतोमा राजस्व छली भए पनि नगरपालिकाले स्वामिनारायणलाई कालोसूचीमा राखेन । नगरपालिकाले धरौटी रकमको ५ प्रतिशत जफत गर्ने काम मात्र गर्यो ।
बोलपत्र प्रस्ताव गरेपछि खरिद सम्झौता गर्न नआए ३ वर्षसम्म कम्पनीलाई कालोसूचीमा राख्न सक्ने व्यवस्था भए पनि नगरपालिकाले कुनै कारवाही नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, मोरङको लेटाङ नगरपालिकाले पनि तेलीखोला र चिसाङ खोलाको ढुंगा, गिट्टी, बालुवा संकलन गर्दा ठेकेदारसँग मिलेमतो गरेको देखाएको छ । २०७६ माघ २७ गते विनिता ग्रेड एण्ड सप्लार्यससँग नगरपालिकाले नदीजन्य वस्तु संकलनका लागि सम्झौता गरेको थियो । विनिता ग्रेड एण्ड सप्लार्यसका सञ्चालक भीम पौडेल हुन् ।
मूल्य अभिवृद्धि करसहित १४ करोड ३० लाख ५८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसारको रकम एकमुष्ट बुझाएको भन्दै नगरपालिकाले १० प्रतिशत छुट दिएको थियो । १ करोड २६ लाख ६० हजार छुट दिई बाँकी रकम ११ करोड ३९ लाख ४० हजार र मुअकरसहित १३ करोड ३ लाख ९८ हजार नगरपालिकाको खातामा जम्मा गरी कार्यादेश लिइएको थियो ।
कार्यालयकै कर्मचारीको मिलेमतोमा १२ बजेपछि सप्लार्यसका प्रतिनिधिलाई बैंकमा पठाएर चेक जम्मा गर्न लगाएको अनुमान गरिएको छ । चेक अनादर (वाउन्स) भएको थियो, नगरपालिकाले सम्झौता गरिसकेको थियो । मुअकर रकम सप्लायर्सले असार ३० गते मात्रै बुझाएपछि महालेखाले नगरपालिकामाथि प्रश्न उठाएको छ ।
नगरपालिकाका कर्मचारीले सप्लायर्ससँग पैसा असूल गर्ने बताएका छन् । महालेखाको प्रतिवेदन आएपछि असूल गर्ने लेटाङ नगरपालिकाका लेखा प्रमुख सुशील बास्तोलले बताए ।