
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा एमाले विभाजनमा सामेल भएको आरोप लगाएका छन् ।
माओवादीले टोपबहादुर रायमाझी र लेखराज भट्टको कारवाही तत्काल सदर गर्ने सभामुखले एमालेले गरेको कारवाही अगाडि नबढाउनु आपत्तिपूर्ण भएको उनले बताए ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले दलीय पक्षधरता देखाएको र मर्यादामा बस्न नसकेको आरोप लगाएका हुन् । ओलीले माधव नेपाल पक्षका १४ जना माथिको कारवाही गरेको पार्टी नफुटोस् भन्नको लागि गरिएको दाबी गरे ।
‘हिजो लेखराज भट्टजी र टोपबहादुर राजमाझीलाई प्रचण्डले निस्कासन गर्दा, प्रचण्डको आदेशमा हतार हतार कारवाही गर्नुभयो । एमालेको कारवाही किन अगाडि बढेन ?,’ ओलीले प्रश्न गरे, ‘हिजो त दाँत टाल्न जानुभयो रे । मेरो शुभकामना छ, उहाँको दाँत राम्रै टालियोस् । हिजो पो दाँत टाल्न जानुभयो, सात दिन के गर्नुभयो ?’
एमालेले गरेको कारवाही सदर नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा समावेश भएको आरोप लगाए । ‘नेकपाको एमाले फुटाउन सभामुख सामेल हुनुभएको छ, यो धेरै दुखको कुरा हो । सभामुखको पदबाट पक्षधरता छाड्न नसक्ने, मर्यादामा बस्न नसक्ने संसदीय प्रणालीका लागि दुखको कुरा हो, खेद प्रकट गर्न चाहन्छु ।’