
वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएको विषयमा छानबिन शुरूआत गरिएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत गोपाल सन्तलाई अंक थपेर २.७५ जीपीए ल्याई एसईई पास गराएका विषयमा छानबिन शुरू गरिएको हो ।
विद्यालयले वैदेशिक रोजगारीमा रहेको युवालाई एसईई पास गराएका विषयमा समाचार सार्वजनिक भएपछि विद्यालयमाथि छानबिन शुरू गरिएको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख विजय मण्डलले जानकारी दिए ।
उनले भने, ‘एसईई पास गराउने विद्यालयबाट सबै विवरण माग गरी सम्पूर्ण कागज झिकाइसकिएको र विवरणमा के त्रुटि भएको छ हेरेर शिक्षा नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।’
विद्यालयका प्राध्यापक श्यामकान्त चौधरीले प्राविधिक गडबडीका कारण विदेशमा भएको युवा पास हुन गएका बताए ।
उनले विद्यार्थीको भौतिक उपस्थिति विना अंक दिनुपरेको तथा अनुपस्थित लेखिनुपर्नेहरूमा नम्बर चढ्न गएर ती विद्यार्थी पास भएको प्रतिक्रिया दिए । कम्प्युटरमा नम्बर चढाउने समय गल्तीले नम्बर चढ्न गएको विद्यालयले जनाएको छ ।
सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले विद्यालयलाई पत्राचार गरिए पनि मागबमोजिम कागज अहिलेसम्म उपलब्ध नगराएको बताए । नगरपालिकाले समेत छानबिन गरी दोषी ठहरिए कानूनबमोजिम कारबाही गरिने उनले बताए ।
गोपालका बुवा राम सन्त सोही विद्यालयको कार्यालय सहयोगी रहेको हुनाले प्रधानाध्यापक चौधरीलाई प्रभावमा पारी परीक्षा फारम भरेको हुनसक्ने आशंका गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ सालमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहने गरी ३ सदस्यीय समिति गठन गर्ने व्यवस्था छ ।
कोरोना महामारीको फाइदा उठाउँदै प्रधानाध्यापक सहितका मिलेमतोमा अधिकांश विद्यालयले एसईईको नतिजामा अनियमितता गरेको स्थानीयको आरोप छ ।