२५ जेठ २०८३, सोमबार

माधव नेपालले नयाँ दल दर्ता गरेसँगै सरकार विस्तारको तयारीमा सत्तारूढ गठबन्धन

माधव नेपालले नयाँ दल दर्ता गरेसँगै सरकार विस्तारको तयारीमा सत्तारूढ गठबन्धन
फाइल तस्वीर।

नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेसँगै सत्ता गठबन्धनले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका दिन उनले चार जना मन्त्री नियुक्त गरेका थिए । त्यसैगरी असार ८ गते स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले सरकार गठनको डेढ महिना पुग्दा मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । 

केपी ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गरेर नयाँ सरकार बनाउन जुटेको सत्ता गठनबन्धनले माधव नेपाललाई सरकारमा उच्च प्राथमिकता दिएपछि सरकार विस्तारमा ढिलाइ भएको थियो ।

सत्ता गठनबन्धनका नेताहरूले माधव नेपालको पार्टी दर्ता हुने बित्तिकै सरकार विस्तार गर्ने बताउँदै आएका छन् । सत्ता गठबन्धनका सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालले नयाँ दलको प्रमाणपत्र पाएको एक–दुई दिनभित्रै सरकार विस्तार भइसक्ने बताएका थिए । 

दल दर्ताको लागि सनाखत गर्न आज निर्वाचन आयोग पुगेका नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद मेटमणि चौधरीले पार्टी एक–दुई दिनमै सरकारमा सहभागी भइसक्ने प्रतिक्रिया दिए । ‘आज प्रमाणपत्र लिएपछि हामीलाई सरकारमा सहभागी हुने ढोका खुल्छ । भोलि, पर्सिभित्रमै सरकारमा सहभागी हुन्छौँ,’ चौधरीले भने । 

२५ सदस्यीय संघीय मन्त्रिपरिषद्मा सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस, माओवादी, नेपाल एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मन्त्रालय बाँड्नेछन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताइसकेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी भने जनता समाजवादी पार्टीबाट बाहिरिएका महन्थ ठाकुरले दर्ता गरेको पार्टी हो । 

सत्तारूढ गठबन्धनका रहेका दलहरूले सरकारमा सहभागिताको लागि कुन दलले कति मन्त्रालय पाउने भन्ने अझै टुङ्ग्याउन बाँकी छ । अहिले प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीसहित कांग्रेसले चार र माओवादी केन्द्रले दुई मन्त्रालय बाँडेका छन् ।  

सरकारमा सहभागिता हुँदा सबै दलले बराबरी हैसियतमा मन्त्रालय पाउनुपर्ने माग गरेका छन् । ‘कुन परिस्थितिमा सरकार बनेको हो भन्ने विचार गर्नुपर्छ । कुन दलको हैसियत के भन्ने आधारमा मन्त्रालयको बाँडफाँट हँुदैन । सबै दलले बराबरी हैसियतमा मन्त्रालय पाउनुपर्छ,’ जनता समाजवादी पार्टीका एक नेताले बताए । 

सरकारमा सहभागी हुने मन्त्री छान्न भने राजनीतिक दलका नेताहरूलाई निकै सकस परिरहेको छ । सरकारमा सहभागी हुन चाहने नेताहरूको संख्या धेरै भएका कारण मन्त्री हुने व्यक्तिको नाम छान्न अप्ठ्यारो परेको राजनीतिक दलका शीर्ष नेताहरूले सार्वजनिक रूपमै बताउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्