२३ जेठ २०८३, शनिबार

जंगली जनावरका कारण किसान हैरान

भदौ ९, २०७८
जंगली जनावरका कारण किसान हैरान
प्रतिकात्मक तस्वीर

बैतडीमा जंगली जनावरले आतंक मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् ।

यी जंगली जनावरले बैतडीका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जंगली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका हुन् ।  

खास गरेर मुख्य खाद्यबालीका रूपमा रहेको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेका हुन् ।  जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन धौंधौं परेको किसानले बताएका छन् ।

दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन सकस परेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए ।

पाक्नै लागेको मकैलाई जंगली जनावरहरूले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ । 

उनले भने, ‘जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ, रातमा निद्रा छैन, दिनमा भोक छैन ।’ मकैको घोगा लागेको बेलादेखि नै जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।

दुम्सीले लगातार रूपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि बँदेल र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ । 

रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताए ।  टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको नाथको भनाइ छ । 

‘रातभरि खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरू टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौं,’ उनले भने, ‘आफूहरूले हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौं ।’ थाल ठटाउने पनि गरेका छन् ।

बाँदर धपाउन सबै काम छाडेर आफूहरूले मकैको गोठालो लाग्नुपरेको स्थानीय वीरेन्द्र धामीले बताए । बाँदरले मकैबालीसँगै आँप, अनार लगायत फलफूल पनि नष्ट पारेको छ । उनले भने, ‘बाँदरको आतंक बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीय तहले पहल गरिदिनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्