
हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ ।
नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो ।
छिमेकी जिल्ला लमजुङ र जिल्लाको सीमावर्ती नाकामार्फत हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा जाँचमा कडाइ गर्न लागिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा आयोजित अन्तरजिल्ला समन्वय बैठकले जाँचलाई प्रभावकारी र कडाइ गर्ने निर्णय गरेको छ ।
नाका खुला गरिँदा हुनसक्ने अवैध हातहतियार तथा विस्फोटक पदार्थ, लागूऔषध, धार्मिक तथा पुरातात्विक वस्तु, बहुमूल्य जडीबुटी, वनपैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु/अखेटोपहारलगायत अवैध तथा बहुमूल्य वस्तुको चोरी निकासी तथा ओसारपसार गतिविधिमा रोक लगाउन सुरक्षा जाँच कडाइ गरिने भएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सीमा क्षेत्रमा नदी, खोलानालालगायतबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन नियन्त्रण गर्न जाँज कडाइ गर्न लागिएको बताए । उनका अनुसार ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको अवैधरूपमा हुने उत्खनन तथा चोरी निकासी नियन्त्रण गर्न सूचना आदानप्रदान गरी आवश्यक समन्वय गर्नेछ ।
‘बाढीपहिरोजस्ता विपद् व्यवस्थापन, विभिन्न प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगका कारण उत्पन्न हुने जोखिम र क्षतिको न्यूनीकरणका लागि आपसी समन्वय र सहकार्य गर्ने निर्णय भएको छ,’ प्रजिअ लामिछानेले भने ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार अविरल वर्षासँगै आएको बाढी पहिरोका कारणले बेंसीशहर–चामे सडकखण्डमा धेरै क्षति पुगेको र गत जेठ १५ गतेदेखि नै सडक अवरुद्ध रहेको हुँदा सडक सञ्चालनमा ल्याउन समन्वयात्मक तवरबाट प्रयास थालिने छ ।
सडकको अनुगमन, निरीक्षण र निर्देशनलाई निरन्तररूपमा जारी राख्ने समेत उनले बताए ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर हुँदै गएकाले बाढी प्रभावित क्षेत्रमा ढुवानी हुने खाद्यान्न, औषधि, इन्धन, निर्माण सामग्रीलगायत आपूर्तिको व्यवस्था गरी सहज अवस्थामा ल्याउन सहजीकरण गरिने लुइँटेलले बताए ।