०८ साउन २०८३, शुक्रबार
प्रदेश १ मा मुख्यमन्त्री फेरबदलको तयारी

मुख्यमन्त्री बन्ने भएपछि माधव नेपाल पक्षका सांसद फकाउँदै भीम आचार्य

भदौ १०, २०७८
मुख्यमन्त्री बन्ने भएपछि माधव नेपाल पक्षका सांसद फकाउँदै भीम आचार्य

प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्य माधव नेपाल पक्षका सांसदहरूलाई फकाउन लागि परेका छन् ।

नेपालको साथ छाडेर एमालेमै बसेका आचार्यले नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा खुल्न सक्ने सांसदहरूलाई एमालेमै राख्न प्रयास गरिरहेका हुन् ।

एमालेले आजै आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

प्रदेश १ मा बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ । एमाले एक्लैको ५१ सांसद भए पनि एक सभामुख र एक निलम्बित सांसदको मत घटाउँदा ४९ मत छ ।

यस्तो अवस्थामा ३ भन्दा बढी सांसदले एकीकृत समाजवादी रोजेमा एमालेको एकल बहुमत गुम्ने छ ।

हालसम्म एमालेका ८ सांसद एकीकृत समाजवादीको पक्षमा देखिएका छन् ।

राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्ग, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे एकीकृत समाजवादीमा लाग्ने तयारीमा छन् ।

नयाँ दल रोज्नका लागि २१ दिनको समय छ ।

आफू मुख्यमन्त्री बन्दा बहुमत गुम्नसक्ने डरले आचार्यले केहीलाई फोन गरेर त केहीलाई भेटेर फकाउन प्रयास गरिरहेको स्रोतको दाबी छ ।

‘मलाई अहिलेसम्म त सहयोग गरिरहनुभएको छ, थप एकपटक सहयोगको आशा राखेकको छु भन्दै भीम कमरेडले फोन गर्नुभएको थियो,’ एकीकृत समाजवादी पक्षका एक सांसदले लोकान्तरसँग भने ।

उनका अनुसार आचार्यले एमालेमै बसेमा मन्त्री बनाउने आश्वासन पनि दिएका छन् ।

यता एकीकृत समाजवादीको पक्षमा खुलिसकेका सांसद राजेन्द्र राई आफ्नै पार्टीमा आए पनि अब आचार्यलाई मुख्यमन्त्री मान्न नसकिने बताउँछन् ।

‘उहाँ हामीसँग आएपनि मुख्यमन्त्री दिन सकिँदैन,’ समाजवादीका केन्द्रीय सदस्य समेत रहेका राईले लोकान्तरसँग भने, ‘आज मुख्यमन्त्री बने पनि एक महिनाभित्रै निवर्तमान भइसक्नुहुन्छ ।’

मुख्यमन्त्रीको दाबेदार समेत मानिएका राईले एक साताभित्रै आफूपक्षीय सांसदहरूले निर्वाचन आयोग पुगेर नयाँ दलको पक्षमा सनाखत गर्ने बताए ।

माथि उल्लेखित ८ बाहेक अन्य ६ सांसद पनि तटस्थ रहेको बताइएको छ ।

सांसदहरू सावित्रीकुमारी रेग्मी, लिलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ पहिले माधव नेपाल पक्षमा रहेपनि हाल तटस्थ छन् ।

यसमध्ये रेग्मी भने एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी भएकाले उनी नयाँ पार्टीतर्फ नै लाग्न सक्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्