०८ असार २०८३, सोमबार

कोरोना जोखिम बढेपछि पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

भदौ ११, २०७८
कोरोना जोखिम बढेपछि पालिकाका सेवाग्राहीलाई आलोपालो प्रणाली

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीको भीड बढ्न थालेपछि सेवा प्रवाह गर्ने समय तालिकालाई हेरफेर गरेको छ । 

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेवा प्रवाहका क्रममा भुम्लु, बेथानचोक र रोशी गाउँपालिकाका सेवाग्राहीलाई पनि समय तालिकाअनुसार नै सेवा प्रवाह गर्ने गरी हेरफेर गरिएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम पोखरेलले दैनिकरूपमा आउने सेवाग्राही नागरिकता बनाउन, राहदानी बनाउन, नवीकरण गर्न र राष्ट्रिय परिचयपत्र बनाउन आउने दैनिक ५०० भन्दा बढीको संख्यामा आउने भएपछि भीड कम गर्न समय तालिका हेरफेर गर्नुपर्ने अवस्था आएको बताए ।

कोभिड–१९ संक्रमणदर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै आगामी आइतवारदेखि लागू हुने गरी समय तालिका हेरफेर गरिएको छ ।

त्यसअनुसार अर्को व्यवस्था नभएसम्मका लागि बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीका लागि आइतवार र बुधवार, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीका लागि मंगलवार तथा शुक्रवार र धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिकाका सेवाग्राहीका लागि सोमवार र बिहीवार समय तोकिएको छ ।

त्यसबाहेक जिल्लाका कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका र डाँडापारिस्थित विकट महाभारत र खानीखोला तथा तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि भने दैनिकरूपमा नै सेवा प्रवाह हुने जनाइएको छ । 

यसअघि गत साउन ३१ गतेदेखि कार्यालयले सबै गाउँपालिकाका हकमा दैनिकरूपमा सेवा प्रवाह गर्दै आएको र नगरपालिकाका सेवाग्राहीका लागि मात्रै आलोपालोरूपमा सेवा दिँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्