२५ जेठ २०८३, सोमबार

नीति अनुसन्धान प्रतिष्ठानले गर्‍यो ५७० विज्ञसँग छलफल

नीति अनुसन्धान प्रतिष्ठानले गर्‍यो ५७० विज्ञसँग छलफल

नीति अनुसन्धान प्रतिष्ठान नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, सुरक्षा, परराष्ट्र सम्बन्ध, सुशासनलगायत नीति महत्त्वका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान र विश्लेषण गरी नीति–सुधार तथा नयाँ नीतिको निर्माणका लागि तयार गरिएको रोस्टरमा रहेका ५७० विज्ञसँग छलफल गरेको छ ।

प्रतिष्ठान नेपाल सरकारलाई तथ्य–आधारित सिफारिस गर्न गठित विज्ञ संस्था (थिंकट्यांक) हो ।

रोस्टरमा सूचीकृत विज्ञहरूले नेपालको नीति अध्ययन–अनुसन्धानको वर्तमान अवस्थालाई कसरी हेरिरहेका छन्, नीति अनुसन्धान सुधार सम्बन्धी राय–सुझाव के छ र विज्ञतालाई नीति प्रवर्द्धनमा कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भई नीति अनुसन्धान प्रतिष्ठानले साउन १३  भदौ ९ गतेसम्म ४ भागमा विद्युतीय (भर्चुअल) छलफलको आयोजना गरेको थियो । 

छलफलमा नीति–अनुसन्धान, नीति–पैरवी, नीति–अध्यापन लगायत नीतिका विभिन्न पक्षसँग सम्बन्धित सुझावहरू प्राप्त भएका प्रतिष्ठानले जनाएको छ ।

यस्ता छन् विज्ञका सुझाव –

– संविधानले अंगीकार गरेको समाजवादउन्मुख व्यवस्था अनुरूप नीतिहरू बन्न ढिलाइ भएका कारण संघीय शासन प्रणालीले उचित ढंगबाट काम गर्न सकिरहेको छैन । संघ र प्रदेशबीच कतिपय विषयमा मतभेद बढिरहेको देखिन्छ । किन संविधान अपेक्षित नीति बन्नमा ढिलाइ भइरहेको छ ? यसै विषयमा पहिलो अनुसन्धान हुनु जरुरी देखिन्छ ।

– नीति अस्थिरता नेपालको मूल समस्या हो । एकातिर राम्रा नीतिहरूको कार्यान्वयन हुन सकेको छैन, अर्कातिर सरकार परिवर्तन भएसँगै नयाँ नीति बन्ने–बनाउने होड चलेको देखिन्छ । यो नीति अस्थिरताले देशको समग्र विकासमा बाधा पुगेको कुरा देशको नीति समुदायले महसूस गर्न सकेको देखिन्न ।

– नेपालमा विज्ञहरूको अभाव छैन, काम गर्ने वातावरणको अभाव छ । विदेशबाट ज्ञानआर्जन गरी नेपाल फर्केका विज्ञहरूलाई परिचालन गर्ने विषयमा ठोस नीति नभएका कारण विज्ञहरू विज्ञताको सदुपयोग गर्न पाइरहेका छैनन् । यसबारेमा नेपाल सरकार गम्भीर हुनु जरुरी छ ।

विज्ञहरूले दिएका सुझावहरू संग्रह गरी नीतिगत मामिला बैंक स्थापना गर्ने, तिनको प्राथमिकता पहिचान गरी थप बहस र अनुसन्धान गर्ने र तथ्य–आधारित सिफारिस गर्ने प्रतिष्ठानको उद्देश्य रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्