०८ असार २०८३, सोमबार

पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

भदौ ११, २०७८
पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको वस्तु आयात भएको छ । 

भन्सार विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०७८/७९) को पहिलो महिनाको तथ्यांकअनुसार एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रूपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो एक महिना ८५ अर्ब ८० करोड ७९ लाख रूपैयाँ बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

यस्तै चालू आर्थिक वर्षको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख रूपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आर्थिक वर्षका तुलनामा चालू आर्थिक वर्षको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो । 

गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ६२ करोड रूपैयाँ बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो एक महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यस्तैगरी नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रूपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।

सबभन्दा बढी पेट्रोलियम पदार्थको आयात

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ छ । एक महिनामा १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ । एक महिनामा नेपालबाट ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

१०२ देशबाट आयात

एक महिनाका अवधिमा १०२ देशबाट एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ ।

चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ । एक महिनाको अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा आठ करोड रूपैयाँ बराबरको निर्यात भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्