
नेपाली हास्य व्यङ्ग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू वितरण गरिएको छ ।
एक कार्यक्रमकाबीच शुक्रवार राजधानीमा पुरस्कार वितरण गरिएको हो ।
यस अनुसार २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार शशि शाहलाई प्रदान गरिएको छ ।
यस्तै २०७७ सालको हास्य व्यङ्ग्य अभिनय तर्फको पुरस्कार किरण केसी (राता मकै) लाई प्रदान गरिएको छ ।
प्रत्येक पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ ।
वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले पुरस्कृत वरिष्ठ कलाकार शशि शाहको नेपाली आधुनिक कलासँगसँगै हास्य व्यङ्ग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए ।
पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्य व्यङ्ग्य अभिनय जीवन्त रहेको उनले बताए । यसैबीच पुरस्कृत स्रष्टा केसीले पुरस्कार स्वरुप आफूले पाएको रकम मध्ये ९० प्रतिशत समाजसेवामा खर्चिने जानकारी दिएका छन् ।

सोही अवसरमा गुठीका अध्यक्ष समेत रहेकी स्वर्गीय लुइँटेलकी पुत्री डाक्टर सुष्मा आचार्यका कृति ‘कस्ले सुन्छ मेरो आवाज’ (उपन्यास) र सोहीको अङ्ग्रेजी अनुवाद ‘हु विल हियर माई भोइस’ को वरिष्ठ साहित्यकार घिमिरे र पुरस्कृत स्रष्टाद्वयले विमोचन गरे ।
गुठीका सचिव प्राध्यापक डाक्टर विद्यादेव शर्माले शाह र केसी जस्ता उच्च कोटीका प्रतिभाहरूलाई पुरस्कृत गर्न पाउँदा गुठी गौरवान्वित भएको बताए ।
कोरोना महामारीका कारण समयमा दिन नसकिएका यी दुई पुरस्कार आज प्रदान गरिएको हो ।