
मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।
पीडित युवतीले दुवैले आफूमाथि सामूहिक बलात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए ।
त्यसैगरी शारीरिक रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।