०१ असार २०८३, सोमबार

कोरोना र बाढीको प्रकोपबीच भौतिक उपस्थितिमै पठनपाठन

भदौ १२, २०७८
कोरोना र बाढीको प्रकोपबीच भौतिक उपस्थितिमै पठनपाठन

कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरू भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन शुरू भएको छ ।

सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोशी र भोटेकोसी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय सरकारअन्तर्गत रहेका सामुदायिक र निजी विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन शुरू भएको हो ।

कोरोना कहरसँगै बाढी पहिरोको चपेटामा परेको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिकामा समेत केही दिनदेखि शिक्षक र विद्यार्थीको भौतिक उपस्थितिमा नियमित पठनपाठन शुरू गरिएको छ । डीसीसीएमसीले पठनपाठन शुरू गर्न औपचारिक रूपमा निर्णय नगरे पनि गाउँपालिकाले आफ्नो क्षेत्रमा पठनपाठन शुरू गरेका हुन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा समस्या भएको भन्दै कतिपय गाउँपालिका र नगरपालिकाले विद्यालय सञ्चालन गर्न नभने पनि विद्यालय आफंैले विद्यार्थी बोलाएर पठनपाठन शुरू गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गतका सबै विद्यालयमा २ सातादेखि नै भौतिक उपस्थितिमा पठनपाठन शुरू गरिएको नगरपालिकाका शिक्षा शाखाका अमित घिमिरेले बताए ।

‘हामीले औपचारिक रूपमा विद्यालय सञ्चालन गर्नु भनेको त छैन तर सबै विद्यालयले आफैंले निर्णय गरेर पढाउन थाल्नुभएको छ,’ नगरपालिकाका शिक्षा शाखाका घिमिरेले भने ।

सदरमुकाम चौतारामा रहेको कृष्णरत्न गंगा माविलगायत नगरभित्रका प्रायः सबै विद्यालय अहिले सञ्चालनमा छन् ।

बढीपहिरोबाट ठूलो भौतिक क्षति व्यहोरेको मेलम्ची नगरपालिकाको शिक्षा शाखाले पनि १७ साउनदेखि शिक्षक अनिवार्य विद्यालयमा उपस्थिति हुन भनेको थियो । अहिले नगर भित्रका सबै विद्यालय आंशिक रूपमा सञ्चालन भएको शिक्षक रमेश चापागाईले जानकारी दिए ।

बाढी पहिरोको समस्यामा रहेको र अधिकांश विद्यालय आउने सडक बिग्रे पनि हेलम्बु गाउँपालिकामा पनि भौतिक उपस्थितमा नै बुधवारदेखि पठनपाठन शुरू गरिएको छ ।

लिसंखुपाखर गाउँपालिकामा पनि भौतिक रूपमा विद्यार्थी विद्यालयमा आउन शुरू गरेका छन् । ‘सिफ्टवाइज रूपमा पढाउनका लागि हामीले भनेका छौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले भने । ट्युसनका रूपमा पढाउनका लागि विद्यालयलाई भनेको र दिन बिराएर कक्षा सञ्चालन भइरहेको दुलालले जानकारी दिए ।

सिन्धुपाल्चोकको विकट गाउँपालिका त्रिपुरासन्दरी गाउँपालिकामा पनि भदौ १ गतेदेखि नै विद्यालय खुलेका छन् । ‘सबै विद्यालय खुलेका छन् तर पहिलाको जस्तो बिहान १०–४ बजेसम्म पढाइ हुँदैन,’ गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले भने, ‘बिहान १०–२ बजेसम्म एउटा सिफ्ट र २–४ बजेसम्म अर्काे सिफ्टमा पढाइ सञ्चालन भएको छ ।’

भोटेकोशी गाउँपालिकामा भने विद्यालय सञ्चालन भएको छैन । ‘केही दिनभित्रै विद्यालय सञ्चालन गर्ने योजनामा छौं,’ गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले भनिन्, ‘अब भदौ १५ देखि नियमित रूपमा विद्यालय सञ्चालन हुन्छ होला ।’

सुनकोशी गाउँपालिकामा भने विद्यालय सञ्चालन भएको छैन । विद्यार्थीको भविष्य र स्वास्थ्यको समेत ख्याल गरेर के गर्न सकिन्छ अब बैठक बोलाएर निर्णय गरिने गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले जानकारी दिए । शिक्षा समिति, वडा अध्यक्षहरू र वडा शिक्षा समितिसँग छलफल गरेर छिट्टै विद्यालय सञ्चालन गरिने अध्यक्ष जिसीले बताए ।

बलेफी गाउँपालिकाले औपचारिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय नगरे पनि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रूपमा सञ्चालन भइरहेका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकसँगको छलफल गरेर स्थानीय रूपमा नै निर्णय गरेर विद्यालय सञ्चालन भइरहेको वडा अध्यक्ष चरिबहादुर तामाङले जानकारी दिए ।

जुगल गाउँपालिकाभित्र पनि अधिकांश सामुदायिक विद्यालय सञ्चालन भइरहेका छन् । ‘प्रायः सबै विद्यालय सञ्चालनमा छन्,’ गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले भनिन्, ‘बाटो समस्या भएको ठाउँमा बाहेक अन्यत्र सबै विद्यालय नियमित सञ्चालनमा छन् ।’

गाउँका मात्रै विद्यार्थी भएका ठाउँमा भौतिक रूपमा नै विद्यालय सञ्चालन हँुदा खासै समस्या नहुने भएकाले विद्यालय सञ्चालन गरिएको उपाध्यक्ष तामाङको भनाइ थियो ।

इन्द्रावती गाउँपालिकाभित्रका प्रायः सामुदायिक विद्यालय नियमित सञ्चालन भइरहेको पालिकाले जानकारी दिएको छ । गाउँपालिकाले औपचारिक रूपमा विद्यालय सञ्चालन गर्न नभने पनि शिक्षक, विव्यस र अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यपलिकाको बैठकले पनि गाउँपालिकाभित्रका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । ‘कार्यपालिकाले निर्णय गरेको छ, हामी हिजो र आज विद्यालयका प्रधानाध्यापकसँग विद्यालय कसरी सञ्चालन गर्ने भनेर बैठक बसिरहेका छौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पोखरेलले भने । प्रअहरूसँग छलफल सकिएपछि छिट्टै नै विद्यालय सञ्चालन गरिने पोखरेलले बताए ।

लामो समयदेखि विद्यालय बन्द भएपछि सीसीएमसीले भने अन्य विकल्पबाट विद्यालय सञ्चालन गर्न भनेपछि आफूहरूले सिन्धुपाल्चोकमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउन खोजे पनि जिल्लामा त्यो प्रभावकारी नभएको प्रमुख जिल्ला अधिकारी एवं डीसीसीएमसीका संयोजक अरुण पोखरेलले जानकारी दिए ।

अभिभावकबाट पनि स्थानीय सरकारलाई विद्यालय सञ्चालनका लागि प्रेसर आएपछि आफूहरूले कुन विधिबाट विद्यालय सञ्चालन गर्न सकिन्छ भनेर स्वास्थ्य कार्यालय प्रमुख र शिक्षा समन्वय प्रमुख रहेको एउटा समिति गठन गरेको पोखरेलले जानकारी दिए ।

‘उहाँहरूले एउटा प्रतिवेदन दिनुभएको छ, प्रतिवेदनमा १२ स्थानीय सरकार अन्तर्गतका विद्यालय कसरी सञ्चालन गर्ने भन्ने उल्लेख छ,’ पोखरेलले भने, ‘अबको डीसीसीएमसीको बैठकमा त्यो प्रतिवेदन पास भएपछि त्यहीअनुसार विद्यालय सञ्चालन हुन्छ ।’

विद्यालय बन्द गर्नु मात्रै सबै समस्याको समाधान नभएको बताउँदै पोखरेलले भने घरमा हुँदा कोरोना नसर्ने, विद्यालयमा मात्रै सर्ने हो त भन्ने प्रश्न अभिभावकले गरेपछि आफूहरूले उपायको खोजी गरेको बताए । इन्टरनेटको गाउँगाउँसम्म सहज पहुँच नभएकाले वैकल्पिक माध्यम प्रभावकारी नभएको पोखरेलले बताए ।

‘हामीले १२ स्थानीय सरकारका लागि १२ वटा नै मोडल बनाएका छौं,’ उनले भने । अब त्यही मोडलअनुसार विद्यालय सञ्चालन गरिने र स्वास्थ्य सुरक्षाको विषयमा स्वास्थ्य कार्यालयले नियमित अनुगमन गरिने उनले जानकारी दिए ।

सिन्धुपाल्चोकमा सामुदायिक र निजी गरेर हाल ५१६ विद्यालय रहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकामा सबैभन्दा बढी ७८ र पाँचपोखरी थाङपाल गाउँपालिकामा सबैभन्दा कम २७ विद्यालय छन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्