०३ असार २०८३, बुधबार

छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ : प्रचण्ड

छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरू राजनीतिक नेतृत्वमा आए आफूले राजनीतिबाट बिदा लिने बताएका छन् । 

योङ कम्युनिष्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई काठमाडौंबाट सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर युवालाई भएको र त्यसका लागि तयारी लाग्न भनेका छन् । 

‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन । छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन,’ प्रचण्डले भने । 

वाईसीएलले भचुर्अल माध्यमको प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गरेको छ । प्रविधिको प्रयोग गरेर सम्मेलन आयोजना गरेको भन्दै प्रचण्डले वाईसीएलको प्रशंसा गरेका थिए । 

‘विज्ञानमा बेइमानी चल्दैन । नभएको कुरा ढाँटेर हुँदैन । जे भनेको छ त्यही हुन्छ । हामीले बुझेको विज्ञान त्यही हो । राजनीति पनि त्यही हो । तर, केपी प्रवृत्ति अर्कै रहेछ,’ प्रचण्डले भने, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भनेको त लेबल मात्रै रहेछ । भ्रष्टाचार छोप्नका लागि मात्रै रहेछ ।’

पार्टी एकता गर्ने केपी ओलीको कामलाई प्रचण्डले ओलीको ठगी धन्दा भनेका छन् । ‘पार्टी एकता गर्ने कुरा त प्रधानमन्त्री प्राप्त गर्न केपी ओलीले ठगी धन्दा गरेका रहेछन् । तर, साथीहरूले केपी ओलीसँग एकता गरेर के पाइस् भन्ने गरेका छन् । केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको छ,’ प्रचण्डले भने ।

केपी ओलीले संसद् विघटन गरेर प्रतिगमन निम्त्याएको र त्यसलाई परास्त गर्न जीवन मरणकै लडाईं बनाएको पनि उनले बताए ।  

‘जीवन मरणकै संघर्षको रुपमा लिएर प्रतिगमन परास्त गर्‍यौं । त्यसमा सबैले साथ दिए,’ उनले भने । 

लोकतन्त्र, संविधान र राष्ट्रको रक्षाको लागि गठबन्धन बनाइएको हो र यसको औचित्य रहँदासम्म गठबन्धन जोगाइराख्ने उनले बताए । 

‘राजनीतिक दलहरू जतिबेला मिलेका छन् त्यसबेला ठूला राजनीतिक परिवर्तन सम्भव भएको छ । नमिलेका, विवाद गरेर बसेका बेला प्रतिगमनले जितेको छ,’ उनले भने, ‘अहिले हामी विजयी मुडमा छौं । विजयी भइयो भनेर रिल्याक्स गर्न थाल्छौं । त्यही बेला प्रतिक्रान्तिले ड्याम्म हान्दो रहेछ ।’

पहिलो पटक विघटन गरिएको संसद् पुनःस्थापना भएर खुशी मनाउँदै गर्दा नेकपा फुटेको स्मरण गर्दै प्रचण्डले भने, ‘केपी प्रवृत्तिका विरूद्ध विजयी भइयो, संसद् पुनःस्थापना भयो, एउटा प्रतिगमन परास्त गरियो भनेर माधव र मैले लड्डु खायौँ तर, लड्डुको स्वाद जान नपाउँदै पार्टी दुई वटा भयो ।’

लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा, देशको विकास र समृद्धिको लागि आफूहरू घ्यू जत्तिकै कोमल भएको तर, अत्याचारका विरुद्ध उत्तिकै कठोर पनि भएको उनले बताए ।

अबको आन्दोलन समाजवाद स्थापनाको लागि हुनुपर्ने उनले बताए । ‘अहिलेसम्म नभएको समाजवादको नयाँ मोडल दिन आवश्यक छ । विकासलाई गति दिएर जनतालाई समृद्ध बनाउनु छ,’ प्रचण्डले भने । 

salt training

कमेन्ट गर्नुहोस्