
विराटनगर-१२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरू विराटनगर आएका छन् ।
१९२ जनाबाट नगद, पासपोर्ट तथा जिन्सी लिएर फरार भएको भन्दै उनीहरू विराटनगरमा आएका हुन् । उनले १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा असुलेको आरोप लगाइएको छ ।
कुवेत, क्यानडालगायतका मुलुकमा पठाइदिने भनेर पैसा असुली दुई महिनादेखि यादव फरार रहेको पीडितहरूको गुनासो छ ।
ऋण खोजेर पैसा बुझाएकाले अहिले ऋण तिर्न समस्या भएको पीडितहरूले बताउँदै आएका छन् ।
ठेक्कापट्टा गर्ने गरेको भन्दै उनले केही व्यापारीहरूबाट समेत रड, सिमेन्ट र घर डेकोरेसनका सामग्रीसमेत ल्याएको बताइएको छ ।
‘मेडिकल गर्न भनेर १५ हजार लिएपछि भिसा आएको र टिकटको पैसा भन्दै ५० हजार मागेपछि दिएका थियौँ,’ पशुपति पासवानले भने । पैसा पाएपछि मिर्चैया चोकमा रहेको अफिससमेत बन्द गरेर भागेको उनले आरोप लगाएका छन् ।
देव भूमि ग्रुप नाममा मिर्चैयामा अफिस खोेलेर यादवले ठगी गरेको पीडितहरूको गुनासो छ ।
जनकपुर घर बताउने यादव दुई महिनादेखि फरार भएपछि न्यायका लागि पीडितहरू उनको घर भएकै स्थानमा आएका हुन् ।