
रिभाइभ लिजर पार्कले आगामी असोज पहिलो साता ‘प्रथम रिभाइभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७८’ आयोजना गर्ने भएको छ ।
एउटै छानामुनि धेरै सुविधायुक्त रिभाइभ पार्कले असोज १–५ गतेसम्म आफ्नै सुविधासम्पन्न कभर्ड हलमा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
कोभिड–१९ महामारीबाट चौतर्फी निराशा फैलिरहेका बेला स्वास्थ्य मापदण्डमा रहेर सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको पार्क सञ्चालक तथा प्रतियोगिताका प्रमुख आयोजक शुक्र पाख्रिनले बताए ।
‘यहाँ सञ्चालित पार्कको स्थापना दिवसको अवसरमा नेपाली ब्याडमिन्टन खेल एवं खेलाडीको विकासलाई टेवा पुर्याउने दृढ विश्वासका साथ बृहत् राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको हो,’ प्रतियोगिताबारे जानकारी दिन शनिवार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘यस प्रथम रिभाइभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ ले देशभरि रहेका प्रतिभावान खेलाडीको पहिचान समेत गर्नेछ ।’
ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानमा करीब १८ करोड लगानीमा सञ्चालित सुविधा सम्पन्न एउटै पार्कभित्र ब्याडमिण्टन हल, जुडो–कराते–उसु हल, स्विमिङपूल, जिम, जुम्बा, साउना–स्टीम, मसाज थेरापी, सलुन–पार्लर, होटल, सेमिनार, पार्टी हलहरू समेत पारिवारिक वातावरणसहितको रेष्टुरेन्ट सञ्चालनमा आएको सञ्चालक पाख्रिनले बताए ।
निजी क्षेत्रबाट सञ्चालित यस क्लबको उद्देश्य केवल नाफा कमाउनु मात्रै नभएको उनको भनाइ छ । शारीरिक–मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै नेपाली खेलकुद क्षेत्रमा यस्ता राष्ट्रियस्तरका खेलहरूको आयोजनाबाट प्रतिभावान खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्य रहेको उनी बताउँछन् ।

‘बालबालिकाहरूलाई उच्चस्तरीय दक्ष प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा पदक दिलाउन सक्ने खेलाडीहरू उत्पादन गर्नु र निजी क्षेत्रबाटै भए पनि नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्याउने पवित्र उद्देश्य राखेका छौँ,’ क्लबको उद्देश्यबारे थप जानकारी दिँदै पाख्रिनले भने ।
प्रतियोगितामा ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरू, विभिन्न प्रदेश र जिल्ला, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल विभागीय टिमसँगै विभिन्न संघ/संस्था तथा क्लबहरूका खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक तथा ब्याडमिन्टनका प्रमुख राष्ट्रिय प्रशिक्षक सुदीप योञ्जनले भेटमा जानकारी दिए ।
प्रतियोगितामा नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई समेत सहभागिताका लागि आग्रह गरिएको योञ्जनले बताए ।
नेपालका लागि अन्तर्राष्ट्रिय पदक दिलाई राष्ट्रको शिर उचो पार्न सफल राष्ट्रिय खेलाडीलाई नगद पुरस्कारसहित सम्मानसमेत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विधाहरूमा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल, भेट्रान्स डबल रहेको संयोजक योञ्जनले बताए । उनले सम्पूर्ण ब्याडमिन्टन खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी हुन समेत आग्रह गरेका छन् ।
प्रतियोगिताका सबै विधामा विजेता, उप–विजेता र तृतीय स्थान प्राप्त गर्ने टीमलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट १७ लाख रूपैयाँ रहेको पाख्रिनले बताए ।
प्रतियोगितामा चारवटै विधाका लागि देशभर र विभागीय टिमसहित चार सय बढी खेलाडीहरूको सहभागिता रहने छ ।
प्रतियोगितामा कोभिड–१९ महामारीलाई ध्यानमा राखेर मास्क, सेनिटाइजर र भौतिक दूरीका मापदण्डहरूलाई विशेष सावधानीका साथ पालना गरिने आयोजकको भनाइ छ ।
प्रतियोगिता अवधिभर हलमा आफ्नो समयमा खेल्ने खेलाडी, कोच, रेफ्री र आवश्यक अफिसियल व्यक्तिहरूलाई मात्र उपस्थित हुने व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार अनावश्यक भीडभाड तथा दर्शकलाई हलमा प्रवेश निषेध गरिनेछ । उच्च प्रविधिलाई प्रयोग गर्दै पार्कको अफिसियल युट्युब, फेसबुक पेजबाट खेललाई लाइभ गरिने छ ।
प्रतियोगिताभर हलमा मास्क, सेनिटाइजर तथा साबुन पानीको व्यवस्था समेत गरिएको छ । प्रतियोगितासम्बन्धी सम्पूर्ण सूचना पार्कको फेसबुक पेजमा अपडेट गरिने आयोजकले जनाएको छ ।