काठमाडौँ, ३१ जेठ - गृहमन्त्री जर्नादन शर्माले आफूले राजनीतिक हस्तक्षेप हैन बरु नेतृत्व गर्ने बताउनुभएको छ ।
आज सुरक्षा विषयमा समाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा गृहमन्त्री शर्माले गृहमन्त्रीले राजनीतिक नेतृत्व नगरे सरकारको उद्देश्य पूरा नहुने टिप्पणी गर्नुभयो । आजको छलफलमा सञ्चारकर्मीले दिएका सुझावमध्ये कम्तीमा ७५ प्रतिशत काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री शर्माले बाँकी २५ प्रतिशत आफूले मात्रै चाहेर नहुनेभएकाले अरुको सहयोग लिएर पूरा गर्ने बताउनुभयो ।

आफूले मन्त्रालयअन्तर्गतका सबै निकायलाई उनीहरुको समस्या, समाधानका उपाय र बलियो बनाउने कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइसकेको र सोहीअनुरुप काम अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो । सुरक्षा सङ्गठनको मनोबल बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै उहाँले भन्नुभयो, “सिपाहीहरुको मनोबल वृद्धि नगरेसम्म शान्ति सुरक्षा जस्तो कार्य सम्पन्न गर्न सकिन्न । सिपाहीलाई अनुशासित बनाउँदै प्रोत्साहन दिने योजना बनाउँदैछु ।”
आफूले सही नियतले काम गर्ने तथा देश र जनतालाई योगदान दिने उद्देश्यले मन्त्रालय सम्हालेको उहाँको भनाइ छ । प्रहरी सङ्गठन तँछाडमछाड गर्दै राजनीतिक नेतृत्वको पछाडि दगुर्ने प्रवृत्तिको आफूले अन्त्य गर्ने गृहमन्त्री शर्माले घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “भनसुन गर्नेलाई मैले कारवाही गर्नेछु । यो एक÷दुई दिन मैले हेरेँ । कोही नदगुर्नाेस् भन्दाभन्दै पनि मलाई फोन गर्नेलाई मैले त्यो काम गर्दिनँ भनेर जवाफ दिएँ ।”
राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई तालिममा बढावा दिन तथा विभागको उद्देश्यअनुसार विभागलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । पत्रपत्रिकामा आएको समाचारका आधारमा प्रतिवेदन बनाउने विभागको कामलाई सुधार्न आवश्यक देखेको उहाँको भनाइ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्र स्पष्ट गरिने तथा सरुवा, बढुवाका लागि पद्धति बसालिने उहाँले बताउनुभयो । उहाँका अनुसार निर्वाचन सम्पन्न भएपछि प्रहरीको सङ्घीय संरचना अगाडि बढाइने छ । आज आफूले पूर्व गृहसचिव, पूर्वप्रहरी प्रमुख बोलाएर सुझाव लिएको समेत उहाँले जानकारी दिनुभयो ।