
प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन भएको केही दिन बित्न नपाउँदै सरकार फेरबदलका लागि होटलमा मासुभात खुवाउनेदेखि मन्त्रीको प्रलोभन बाँड्नेसम्मका गतिविधि हुन थालेका छन् ।
प्रदेश सरकारको नेतृत्व हडप्नका लागि विभिन्न मन्त्रालयदेखि होटलसम्मका बन्द कोठामा सांसद तानातान चलिरहेको छ ।
नवगठित नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पक्षका १० जना सांसदलाई अन्यत्र जान नदिन विराटनगरको एक होटलमा कोठा बूक गरी ५ दिनदेखि मासुभात खुवाएर राखिरहेको छ ।
अर्कातर्फ मुख्यमन्त्री भीम आचार्य आफ्नो कार्यालय र निवासबाटै फोन घुमाएर सांसदहरूलाई मन्त्री बनाउने प्रलोभन देखाउनमा व्यस्त छन् ।
हाल एमाले सरकारमा छ भने एमालेबाट विभाजित एकीकृत समाजवादी जतिसक्दो चाँडो सरकारको नेतृत्व लिने दौडमा रहेको छ ।
गत बिहीवार भीम आचार्य मुख्यमन्त्री बनेदेखि प्रदेश १ मा सांसदहरूको कित्ताकाट शुरू भएको हो ।
एमाले विभाजन हुँदै गर्दा शुरूमा ३ जना सांसद मात्र समाजवादीको पक्षमा खुलेका थिए । भीम आचार्य मुख्यमन्त्री बनेलगत्तै त्यो संख्या बढेर १० पुगेको दाबी नेताहरूले गरिरहेका छन् ।
एमाले विभाजन र सत्ताको चलखेलका कारण सांसदहरू तानातानमा छन् । सांसदहरू होटलमा बसे पनि मुख्यमन्त्री आचार्यले फोन भने निरन्तर घुमाइरहेका छन् ।
‘तपाईंसँग गफ छ भनेर मुख्यमन्त्री र केही माननीयज्यूहरूले घण्टा–घण्टामा फोन गर्नुहुन्छ,’ सांसद सावित्राकुमारी रेग्मीले भनिन्, ‘घरमै भेट्न भएपनि आउँछौं भन्नुहुन्छ, मैले भेटेको छैन । मन्त्री बन्नेसम्मको अफर आइरहेको छ ।’
अर्की सांसद सुनिता चौधरीले पनि मुख्यमन्त्रीको फोन आएको स्वीकारिन् ।
‘मैले तपाईंहरूलाई गुन लगाएको छु, अब गुन तिर्नुहोस् भन्दै मुख्यमन्त्रीज्यूले फोन गर्नुभएको थियो,’ चौधरीले भनिन् ।
हाल दाबी गरिएजस्तै १० जना सांसद नै समाजवादीको पक्षमा खुल्ने हो भने नवगठित प्रदेश सरकार स्पष्ट अल्पमतमा पर्नेछ ।
यही मौकाको सदुपयोग गर्दै एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने दौडमा छन् । त्यसका लागि उनले आफूसहितका १० सांसदलाई एक होटलमा राखेका छन् ।
‘चार–पाँच दिनदेखि १० जना सांसद विराटनगरको एक होटलमा बसिरहेका छौं । घरनजिकै रहेका केही माननीय भने रातिको समयमा आफ्नै घर पनि जानुहुन्छ,’ समाजवादी पक्षका एक सांसदले लोकान्तरसँग भने ।
कम्तिमा निर्वाचन आयोगको कार्यालयमा पुगेर नयाँ पार्टीको पक्षमा सनाखत नगर्दासम्म सांसदहरूलाई एमाले नेताहरूको सम्पर्कबाट बाहिर राख्ने समाजवादीको प्रयास देखिन्छ ।
हालसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी त केन्द्रीय सदस्य नै हुन् ।
यता नेकपा एमालेका नेताहरूले भने सांसदलाई होटलमा बन्धक बनाएको आरोप लगाएका छन् । बन्धक बनाएको भन्ने आरोपको एकीकृत समाजवादीका नेता राजेन्द्र राई खण्डन गर्छन् ।
‘सबै माननीयज्यूहरू राजनीति गरेर नै आउनुभएको हो, हामीले उठभन्दा उठ र बसभन्दा बस गर्ने कोही हुनुहुन्न,’ राईले भने, ‘मुख्यमन्त्रीले अहिले बाँडिरहेको मन्त्रीको कार्ड दुई दिनभित्रमा समाप्त पारिदिन्छौं ।’
मोरङसहित प्रदेश १ का ३ जिल्लामा मंगलवार पनि सार्वजनिक बिदा रहेकाले बुधवार मात्रै सांसदहरू सनाखतका लागि निर्वाचन आयोग जाने तयारी छ ।
यस्तो छ प्रदेश सभाको अंकगणित
प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् ।
जसमध्ये एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सांसद रहेको तथ्यांक प्रदेश सभा सचिवालयमा छ ।
एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन कीर्ते मुद्दामा उच्च अदालत विराटनगरबाट दोषी ठहर भएपछि फरार छिन् ।
उनी निलम्बित अवस्थामा रहेकाले मताधिकार छैन, तर बहुमत भने उनीसहितको संख्या ९२ मा पुष्टि गर्नुपर्ने हुन्छ ।
एमालेमा बाँकी रहेका ५० सांसदमध्ये सभामुखसँग निर्णायक अवस्थामा बाहेक मताधिकार हुँदैन । सोही कारण विभाजनअघि एमालेमा मताधिकार प्राप्त सांसद ४९ जना रहेकोमा १० जना घट्दा ३९ मा सीमित हुने देखिन्छ ।
बहुमतका लागि ४७ मत चाहिन्छ । यस्तो अवस्थामा साना दुई दलको समर्थनले पनि एमालेलाई सरकार बचाउन पर्याप्त हुँदैन ।
मुख्यमन्त्री आचार्यसामु एकीकृत समाजवादीको सम्पर्कमा रहेका १० मध्ये कम्तिमा ८ जनालाई एमालेमै राख्ने वा जसपाका ३ र साना दलका २ जनालाई समेत समेटेर एकीकृत समाजवादीका कम्तिमा ३ जना सांसद खोस्नेबाहेक अर्को विकल्प देखिँदैन ।
उपेन्द्र यादवकै पार्टीमा रहेर जसपा सांसदले एमालेसँग गठबन्धन गर्ने कुनै सम्भावना देखिन्न । यस्तो अवस्थामा निर्वाचन आयोगले दिएको २२ गतेसम्मको समयभित्र ती सांसदले महन्थ ठाकुरको दल लोसपा रोज्नुपर्ने हुन्छ ।