
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान सत्तारुढ गठबन्धन कम्तीमा आगामी चुनाव अघिसम्म जाने बताएका छन् ।
उनले गठबन्धन अहिलेको आवश्यकता भएकाले यसको विकल्प नभएको बताएका हुन् ।
‘यो गठबन्धन डेढ वर्षसम्म जान्छ । गठबन्धनको सरकारले अपेक्षाकृत औसत काम गर्छ,’ उनले भने ।
वर्तमान संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरूलाई स्थापित गराउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ ।
गठबन्धनका राजनीतिक दलहरूभित्र विचारमा विविधता भए पनि आधारभूत रुपमा मिल्ने उद्देश्यहरू र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडि बढाउने उनले उल्लेख गरे ।
यस्तै उनले नेकपा (माओवादी केन्द्र) भित्र मन्त्री छान्नलाई कुनै सकस नभएको बताए । पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्मा जान तयार रहेको पनि उनले स्पष्ट पारे ।
‘ओलीजीले बनाएको भद्रगोल देशको राजनीतिक परिदृश्यलाई सम्हालेर देशको संविधान, लोकतन्त्र, कतिपय हाम्रा अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धहरू साथै देशको प्रणालीलाई कमसेकम धेरै गुणात्मक रुपमा प्रगतिको पथमा लिएर जान नसके पनि एउटा ट्रयाकमा लिएर जाने चुनौतीसहित गठबन्धन बनेको छ,’ उनले भने, ‘संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र यी सबै स्थापित मूल्य, मान्यताहरू सुनिश्चिततापूर्वक अगाडि बढिरहन्छन् भन्ने कुराको सुनिश्चितता नहुँदासम्म गठबन्धन कायम रहिरहन्छ ।’
यस्तै उनले अध्यादेशअनुसार २० प्रतिशत संख्याको निर्णयले माओवादी पार्टीलाई पनि प्रभाव पर्छ भन्ने हल्ला मात्रै भएको बताए । भने, ‘त्यसको कुनै गुञ्जायस छैन ।’
दुई–तीन दिनभित्रै सरकारले पूर्णता पाउने उनको भनाइ छ ।