
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको संख्या बढेको छ ।
पार्टीको विधानअनुसार ४ वर्षमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि संविधानअनुसार ५ वर्ष ६ महिनापछि हुन लागेको महाधिवेशनमा भाग लिन उपत्यका छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको संख्या बढेको हो ।
राजधानीमा विभिन्न पेशा व्यवसाय गरेर बसेका व्यक्ति पार्टीको लामो समयपछि हुन लागेको महाधिवेशनमा भाग लिन गाउँ हिँडेका हुन् ।
विक्रम संवत् २००३ सालमा स्थापना भएको कांग्रेसले विभिन्न आरोह अवरोह पार गर्दै भदौ १८ देखि १४औं महाधिवेशनका लागि वडा अधिवेशन गर्न लागेको छ । विक्रम संवत् २००३ सालको मजदुर आन्दोलन, २००७ सालको प्रजातन्त्र स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र स्थापना, २०६२/०६३ को जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको महाधिवेशनलाई देश तथा विदेशमा महत्त्वका साथ हेरिएको छ ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको विक्रम संवत् २०७२ फागुनमा पार्टीको १३औं महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी कांग्रेसको वडा, पालिका हुँदै जिल्ला अधिवेशनमा भाग लिनका लागि १ हप्ता पहिल्यै गोरखा पुगिसकेका छन् ।
‘वडादेखि पालिका हुँदै जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व तथा प्रतिनिधि चयनका गर्नुपर्छ भन्ने मान्यताका साथ म अहिले गाउँगाउँमा हिँडेको छु,’ उनले भने । नेतृत्व छनोटका विषयलाई जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने भएकाले सर्वसम्मत नेतृत्व निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ । – अच्युत रेग्मी/रासस