काठमाडौँ, १ असार - सुरक्षा निकायलगायत सरकारको पूरा वा आंशिक स्वामित्वमा रहेका सङ्गठित संस्थाले अब कर्मचारीसम्बन्धी आफूखुसी नियम बनाउन नपाइने भएको छ । स्थापनाको ६७ वर्ष प्रवेशको अवसर पारेर लोकसेवा आयोगले असार १ गतेदेखि लागू हुने गरी सबै निकायका लागि एउटै सामान्य सिद्धान्त लागू गर्ने भएपछि आफूखुसी नियम बनाउने परम्परा अन्त्य हुने भएको खबर गोरखापत्रले छापेको छ ।

सङ्गठित संस्थामा कर्मचारीको सेवासर्तसम्बन्धी कानुन, योग्यता प्रणाली, बढुवा र विभागीय कारबाही गर्दा अवलम्बन गर्ने सामान्य सिद्धान्त फरकफरक भएकाले एकरूपता कायम गर्ने उद्देश्यले सबैका लागि एउटै नियम बनाउन लागिएको आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए ।
“सुरक्षा निकायलगायत नेपाल सरकारको ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहेका सङ्गठित संस्थामा अब एउटै सिद्धान्त लागू हुन्छ”, अध्यक्ष मैनालीले भने , “असार १ गतेदेखि लागू गर्दैछाँै जसले सबै सङ्गठित संस्थामा कर्मचारीसँग सम्बन्धित बिषयमा एकरूपता आउँछ । ”