२५ जेठ २०८३, सोमबार

तालिबानले हिन्दू र सिखहरूलाई दिए सुरक्षाको आश्वासन

भदौ १६, २०७८
तालिबानले हिन्दू र सिखहरूलाई दिए सुरक्षाको आश्वासन

अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकहरू पूरै हटेपछि तालिबानको शासन शुरू हुन लाग्दा अल्पसंख्यकहरू डराएका छन् । 

डराएका हिन्दू र सिख अल्पसंख्यकहरू काबुल विमानस्थल पुगेका थिए तर तालिबानले अफगान नागरिकलाई बाहिर जान नदिने भनेपछि उनीहरू काबुल नजिकैको कर्ता–ए–परवानमा रहेको गुरद्वारामा शरण लिएका बसेका थिए । 

शरण लिएकामध्ये कैयौं अफगानिस्तानबाट विभिन्न भागमा फर्किसकेका छन् र कामकाज शुरू गरिरहेका छन् । केही परिवार अझै पनि गुरद्वारामा छन् । 

यसैबीच तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले काबुल विमानस्थलमा रोकिएका १४० अफगान सिख र हिन्दूहरूको समूहलाई देश छोड्ने अनुमति दिन सकिने बताएका छन् । 

टाइम्स अफ इन्डिया पत्रिकाले काबुलमा कस्मेटिक्सको पसल चलाउने एक सिख नागरिकलाई उद्धृत गर्दै समाचार बनाएको छ । ती सिखले भने, ‘काबुलमा ४० जना जति अफगान सिख र हिन्दूहरू पसल चलाउँछन् । उनीहरू काममा फर्केका छन् । मेरो भाइले औषधिको थोक कारोबार गर्छ । ऊ पनि काममा फर्केको छ । तालिबान कमान्डरहरूले हामीलाई सुरक्षाको आश्वासन दिएका छन् । त्यसैले हामीले पसल खोलेका छौं ।’

एक अफगान हिन्दूले पसल खोलेको तर चलाउन गाह्रो परिरहेको बताए । एकदमै कम ग्राहक आउने भएकाले एकछिन पसल खोलेर बन्द गर्ने गरेको उनको भनाइ छ । मानिस घरबाट निस्कन समेत डराएकाले पसल चलाउन मुश्किल परेको उनी बताउँछन् । 

इन्यिन वर्ल्ड फोरमका अध्यक्ष पुनीत सिंह चण्डोकले हिन्दू र सिखहरूलाई आधिकारिक दस्तावेज भएमा भारत जान दिइने आश्वासन तालिबान प्रवक्ताले दिएको बताए । यस्तो अवस्थामा भारत आउन इच्छुक अफगानहरूका लागि आशाको किरण देखिएको उनको भनाइ छ । 

यसै साताको अन्त्यसम्ममा अफगान सिख र हिन्दूहरू दिल्ली जान पाउने नपाउने विषय स्पष्ट हुनेछ । 

काबुल विमानस्थलमा स्थिति सामान्य हुने प्रतीक्षा आफूहरूले गरिरहेको चंडोकले बताए । अमेरिका हटेपछि तालिबानले विमानस्थल सञ्चालनको जिम्मेवारी टर्की र कतारलाई दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्