अमेरिकाको बाइडन प्रशासनले तालिबानलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा सोच बनाइरहेको छ ।
यही बेलामा तालिबान लडाकूहरू चाहिँ अमेरिकी सैनिक तथा नेटो साझेदारहरूको काल्पनिक अन्त्येष्टि समारोह आयोजना गरिरहेका छन् ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले एबीसी टेलिभिजनको गूड मर्निङ अमेरिकामा कुराकानी गर्दै अमेरिकाले अफगान जनतालाई स्वास्थ्य सामग्री, खानेकुरा तथा अन्य प्रकारका मानवीय सहायता उपलब्ध गराइरहने बताए ।
आर्थिक तथा विकास सहायताका लागि नगद सहायता चाहिँ तालिबानले आफ्नो प्रतिबद्धता पूरा गर्छन् कि गर्दैनन् भन्नेमा भर पर्ने उनले बताए । अफगानिस्तानमा अझै पनि बसिरहेका अमेरिकीहरूको सुरक्षित बहिर्गमनका लागि तालिबानले प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
तालिबानलाई सीधै पैसा नदिइने र सबै सहायता अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत उपलब्ध गराइने सलिभानले बताए ।
तर तालिबानले सरकार तथा बैंकिङ प्रणालीको पूर्ण नियन्त्रण गरेको छ ।
उता अमेरिका, बेलायत र फ्रान्सेली झण्डाका साथै नेटोको प्रतीकचिह्नले कफिनहरू बेरेर तालिबानको झण्डा बोकेका मानिसले खोस्तको सडकमा जुलुस निकालेका छन् । अन्तिम अमेरिकी विमान उडेको केही घन्टापछि उनीहरूले यस्तो जुलुस निकालेका हुन् ।